काठमाडौं । सुरुमा क्विन्टल र प्रशोधनपछि ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका थप ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले जानकारी दिनुभएको छ ।
त्यसरी पक्राउ पर्नेमा काभ्रे तेमालका कान्छामान लामा उर्फ (थर्कमान)सहित नौ जना छन् । अन्य केही सुन व्यवसायी समेत रहेको सीआईबीको जिकिर छ । लामा नेपाली कांगे्रस काभ्रेका जिल्ला सदस्य समेत रहेको बताइएको छ ।
सीआईबीले ६० किलो सुन तस्करीको अनुसन्धान गर्न छुट्टै टोली खडा गरेर गोप्य रुपमा अनुसन्धान जारी राखेको छ । हालसम्म पक्राउ परेका अन्य व्यक्तिबारे सीआईबीले औपचारिक जानकारी दिएको छैन । उनीहरुबाहेक थप अन्य आरोपी भाग्नसक्ने आशंकाले सीआईबी गोप्य अनुसन्धानमा जुटेको हो ।
गएको साउन २ मा सवारी साधनको ‘ब्रेक सू’मार्फत् हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन भन्सार पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । सोही घटनाको अनुसन्धान सीआईबीले गरेको हो । पहिलो चरणको अनुसन्धान सक्काएको सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो ।
६० किलो सुन प्रकरणको अनुसन्धान गर्दैजाँदा सीआईबीले रेडी ट्रेड कम्पनीसहित अन्य विभिन्न डमी कम्पनी खडा गरेर त्यही समूहले ३६० किलोभन्दा बढी सुन तस्करी गरेको तथ्य भेट्टाएको थियो । पक्राउ परेकाहरुमाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरिएको छ । पक्राउ परेकाहरुमा ९ जना चिनियाँ र २० जना नेपाली छन् ।
हाल उनीहरु पुर्पक्षका लागि जेलमा छन् । तर, सीआईबीले पहिलो चरणको अनुसन्धान गर्दा त्रुटि गरेको भन्दै सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन समेत गरेको थियो । त्यही आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको हो ।
पहिलो चरणको अनुसन्धान गर्ने सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसहितको टिमलाई नै सीआईबीबाट हटाएर एआईजी श्यामलाल ज्ञवालीलाई अनुसन्धानको जिम्मा दिइएको छ । सुन तस्करी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीप्रसाद आचार्य नेतृत्वको टोलीले पहिलो चरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाहीको सिफारिससमेत गरेको थियो । यद्यपि, आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठेपछि कारबाही प्रक्रिया नै रोकिएको छ ।
यस्तै, अनुसन्धानकै क्रममा एक जनाको शंकास्पद मृत्यु भएको खबर छ । ६० किलो सुन तस्करीको अनुसन्धान कै घेरामा रहेका एक जनाको शंकास्पद मृत्यु भएको हो । बौद्धस्थित गोम्बु लामाले विष खाएको र चाबाहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सीआईबीले जनाएको छ ।
लामालाई पहिलो चरणको अनुसन्धानका क्रममा सोधपुछका लागि सीआईबीले कार्यालयमा बोलाइएको थियो । सोधपुछपछि छुटेका लामाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको बताइएको छ । पहिलो चरणको सोधपुछका क्रममा प्रमाण नपुगेपछि लामालाई सीआईबीले छोडेको बुझिएको छ ।