ताप्लेजुङ । नेपालको सुदुरपूर्वी जिल्ला ताप्लेजुङको ओलाङ्चुङ्गोलामा अवस्थित सिङ्जेमा ताल पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।
हिजोआज सिङ्जेमा ताल क्षेत्रको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । हालै निर्माण सम्पन्न तमोर कोरिडोर सडकले आलोङचुङगोला जोडिएपछि सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको वडाध्यक्ष लामाको अनुमान छ । उहाँका अनुसार पूर्वका विभिन्न जिल्ला र काठमाडौँ लगायतका ठाउँबाट सिङ्जेमा क्षेत्रमा पर्यटक आउने गरेकाछन् ।
सिङ्जेमा ताल ओलाङचुङगोलाको बस्तीबाट एक दिनको पैदल दुरीमा अवस्थित छ । समुद्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको यस तालकोे क्षेत्रफल र गहिराईको मापन हुन सकेको छैन । ताललाई एक फन्को लगाउन एक घण्टा भन्दा बढी समय लाग्छ । प्राकृतिक रुपमा मनोरम मात्रै नभइ स्थानीयले यस ताललाई धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने स्थानीय विश्वास छ ।
पुराना किंवदन्तीहरु:
तालसँग जोडिएका केही पुराना किंवदन्तीहरु छन् । स्थानीयका अुनसार यस तालको किनारमा एकजना स्थानीय शेर्पा बसिरहेको बेला तालबाट एउटा चौंरी निस्कियो । त्यो चौंरीको गोबर शेर्पाले घरमा लगेपछि उनी धेरै सम्पन्न भएका थिए ।
स्थानीय फुजुङ शेर्पाका अनुसार धेरै वर्ष अगाडि त्यस तालको छेउमा भेडीगोठ बस्दा पोखरीबाट एउटा थुम्बा(भाले भेडा) निस्केर बगालमा मिसियो । त्यसलाई गोठालाहरुले मारेर खाए । त्यसपछि फेरि तालबाट दुई वटा भेडा निस्किए । ती दुई भेडाले बगालका सबै भेडाहरुलाई सुंघे । त्यसपछि बगालका सबै भेडाहरु तालमा पसे र हराए ।
तालको दर्शन कसरी गरिन्छ?
तालको उत्तरतिर पूजा गर्नको लागि एउटा थान बनाइएको छ । यस थानमा त्यहाँ पुग्ने जो कोहीले भाकल गर्ने चलन छ । तालमा जाँदा बिहान चोखो मुखमा जाने र आफुसँग जे छ त्यही चढाउने चलन छ । त्यसैले प्राय दर्शनार्थीले पूजा थानमा गरगहना, घडी, औंठी, चुरा लगायतका सामान चढाएको देखिन्छ । कसैले सुन, चाँदी पैसा नगद सिक्का चढाउने गरेका छन् । तर ती भेटी, गहनाको संकलन र उचित व्यवस्थापन हुनसकेको छैन । कतिपयले तालमा पुगेपछि आफ्नो भाग्य देख्न सक्छन् भन्ने विश्वास समेत छ ।
कसरी पुग्ने सिङ्जेमा ?
सिङ्जेमा ताल पुग्नको लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारदेखि गाडीमा तमोर कोरिडोरको कच्ची सडकबाट लिङ्खिम-तापेथोक-लेलेप हुँदै ओलाङचुङगोलासम्म जान सकिन्छ ।
ओलाङचुङगोला पुगेर भोलिपल्ट जादाक, देउमा हुँदै तालभन्दा दुई-तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौंरीगोठमा बास बस्न पुग्नुपर्दछ । तालक्षेत्र जाने बाटोमा होटल, चिया पसल जस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । आफुलाई आवश्यक सामग्री आफैँले बोक्नुपर्दछ । चौंरी गोठमा खाना, चिया र सुत्नका लागि सामान्य व्यवस्था हुन्छ ।
चौंरीगोठबाट भोलिपल्ट तीन-चार घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । तालको अवलोकन र दर्शन पश्चात गोठमा आइपुगेर खाना खाएर ओलाङचुङगोलासम्म फर्किन सकिन्छ । व्यवस्थित यात्राका लागि टेन्ट, स्लिपिङ ब्याग लगायतका व्यक्तिगत सामग्री लिएर जान सकिन्छ ।
कहिले जाँदा राम्रो?
ताल क्षेत्रमा जाने उपयुक्त मौसम बैसाख अन्तिम देखि असोज पहिलो हप्ता सम्म हो । बैसाखदेखि असोजसम्म यस क्षेत्रमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अरु बेलामा गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुने गर्दछ । यद्यपी कोही पथ प्रदर्शक र आवश्यक सामग्री साथमा लिएर जाने हो भने जनसुकै समयमा ताल क्षेत्रमा जान सकिन्छ।
त्यसो त यस तालको दर्शन गर्न जाने परम्परा धेरै पुरानो हो । तर त्यतिबेला यहाँ पुग्नेहरु ओलाङचुङगोला आसपासका मात्रै हुन्थे । त्यसबेला लेलेप, तापेथोक, लुङथुङ, हेल्लोक, इखाबु, लिङखिम, खेजेनिम क्षेत्रका मानिस तालको दर्शनमा जाने चलन थियो । यो तालको बारेमा ती स्थानीयबासीलाई बाहेक थाहा थिएन । तर पछिल्लो समय सिङ्जेमा तालको दर्शनमा जानेको सङ्ख्या बढ्दो छ ।
स्थानीय गोठवाला तेम्बा शेर्पाले पर्यटकीय यामको बेला दैनिक ६ देखि १२ जनासम्मलाई खाना र बास दिँदै आएको बताउनुभयो । पैदल हिँड्ने बाटोमा जम्मा तीन वटा चौंरी गोठ मात्र हुन्छन् । गोठवालाले ताल घुम्न आउने पर्यटकलाई लक्षित गरी चामल, तरकारी, नून, तेल, मसला र ओढ्ने ओछ्याउनेको व्यवस्था गरिदिने गरेका छन् । एउटा गोठमा प्रतिरात १० जनासम्मलाई बास दिन सकिने स्थानीय गोठाला फुजुङ शेर्पाले बताउनुभयो । विगतमा साउन र भदौमा मात्रै ताल घुम्न आउने भएपनि अहिले तालको प्रचारप्रसार भएसँगै बैसाख लाग्नुअघिदेखि नै पर्यटकको आगमन हुन गरेको स्थानीय शेर्पाको भनाइ छ ।
ओलाङचुङगोलाबासीका अनुसार युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार-प्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो । ताल भ्रमण गर्न वार्षिक कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क भने अहिलेसम्म राखिएको छैन ।
सिङ्जेमा ताल कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो । सिङ्जेमा ताल र आसपासका क्षेत्रमा पछिल्लो समय चलचित्र छायाङ्कन, वृत्तचित्र बनाउनेको सङ्ख्या बढेको छ । यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न परिषद्को स्वीकृति अनिवार्य रहेको छ ।