काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा पारिवारिक निजी वन संघको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बढ्दो बसाईंसराई, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतिहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भइ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उपराष्ट्रपति यादवले वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतिहरुलाई अवसरका रुपमा परिणत गर्नका लागि सरोकारवाला बिचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प रहेको पनि बताउनुभयो । उहाँले खेर गइरहेको निजी आवादी जमिनमा हरियाली बनाउन छिटो, छरितो बढ्ने बिरुवाहरुको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्न सकिने जानकारी दिनुभयो ।
‘निजी वनको दिगो व्यवस्थापन अति आवश्यक छ । मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्दछ । बढ्दो बसाईंसराई, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदुषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतिहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भइ अघि बढ्नुपर्दछ', उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यसर्थमा पारिवारिक वनको भूमिका झनै महत्त्वपूर्ण हुनसक्छ । वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतिहरुलाई अवसरका रुपमा परिणत गर्नका लागि सरोकारवाला बिचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प छ ।’
उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्यूनिकरण तथा अनुकूलनका लागि निजी वनले गरेको योगदानको समीक्षा र मूल्याङ्कन हुन जरुरी रहेको बताउनुभयो ।