काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ । खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियममा हुनेछ ।
एसियाली विश्वकप छनोटको समूह ‘एच’ मा नेपाल चार टिममध्ये सबैभन्दा पुछारमा छ । विश्वकप छनोटमा नेपालको सबै सम्भावना समाप्त भइसकेको छ । अब नेपालको ध्यान एसिया कप छनोटमा हो । यमनविरुद्धको खेलसँगै नेपालले यसपल्टको विश्वकप छनोट यात्रा टुंग्याउँदै छ । अहिलेसम्म ५ खेलमा नेपालको प्रदर्शन असाध्यै कमजोर छ । नेपालले न कुनै अंक जित्न सकेको छ न त कुनै गोल गर्न नै सकेको छ ।
यसै बिच नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक हुनुहुन्छ । उक्त खेल किरणले नेपालका लागि खेल्ने १०० औं खेल हुनेछ । यसअघि नेपालले साउदी अरेबियामै यूएईकै सामना गरेको थियो । त्यो किरणले नेपालका लागि खेल्नुभएको ९९ औं खेल रह्यो । टिममा उहाँको स्थान निश्चित रहेको मात्र होइन, उहाँ नै कप्तान रहनुभएको स्थितिमा यमनविरुद्ध खेल्ने निश्चित छ । ‘नेपालका लागि १०० औं खेल खेल्दै छु । यसमा स्वभाविक रूपमा खुसी छु, गर्व महसुस गरिरहेको छु । सबैभन्दा ठूलो यो सय खेलले मेरो काँधमा अझ धेरै जिम्मेवारी थपेको छ,’ किरणले सुनाउनुभयो ।
किरण हाल इन्डियन सुपर लिग (आईएसएल) मा पञ्जाव एफसीमा अनुबन्ध हुनुहुनछ। उहाँले पञ्जाबबाट धेरै सफलता हात पारिसक्नुभएकोछ। उहाँ तीन फरक देशमा लिग जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुनुहुन्छ।
किरणले नेपालमा थ्रीस्टारबाट लिग जित्नुभएकोथियो। यस्तै उहाँले माल्दिभ्समा टिसी स्पोर्ट्स र माजिया एस एण्ड आरसी तथा भारतमा मिनेरवा पञ्जाव/राउण्ड ग्लास पञ्जावबाट लिग जिति सक्नुभएकोछ । यस्तै उहाँले ३ देशमा उत्कृष्ट किपर हुँदै गोल्डेन ग्लोभ्स अवार्ड समेत जित्नुभएकोछ ।
पञ्जावबाट आई लिग जितेपछि किरणको टोली आईएसएलमा छनोट भएको हो र उहाँ पहिलो पटक आईएसएल खेलिरहनुभएकोछ। किरणले २०७८ सालमा नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) पनि खेल्नुबएको थियो ।