काठमाडौं । अन्य दिन भन्दा फरक ढंगले बैठक हलमै खाजा आएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बबण्डर भएको छ । प्रतिपक्षका सांसदले आफ्नै पार्टीबाट सभापति रहेका रामहरि खतिवडालाई एनजीओको खाजा प्रवेश गराएको भन्दै निहुँ खोजेपछि बबण्डर भएको हो ।
प्रतिपक्ष नेपाली कांग्रेसका सांसद हृदयराम थानीले हलमा प्रवेश गर्नासाथ सभापति रामहरि खतिवडालाई व्यङ्ग्य गर्नुभयो, ‘आज त टेबलमा काटा चम्चा छ त !’ खतिवडालाई थप प्रश्न गर्दै थानीले, ‘निजामती ऐन पारित गर्ने कि मिठो मिठो खाजा खुवाएर हामीलाई भुल्याउने हो सभापति ज्यू ?’ भनी झन विषय चाल्नुभयो ।
त्यतिबेलासम्म बैठकमा उपस्थित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित केही सांसदहरूले भने खाजा खाइसक्नु भएको थियो । थानीले कुरा खोल्दै गएपछि गृहमन्त्री लामिछानेलाई अफ्ठेरो लाग्यो । आफुले थाहा नपाइकन खाजा खानपुगेको भन्दै अब बैठकमा नबस्ने भनेर बाहिरिनुभयो ।
समितिका एक सदस्यका अनुसार, ‘म बाहिरिएँ भनेर मात्र निस्कनुभयो’ । पछि, गृहमन्त्रीको सचिवालयले समितिको बैठकमा एनजीओको खाजा स्पोन्सर भएपछि बैठक छाडेर हिँडेको भनी हल्ला गरेको छ । सचिवालयका अनुसार गृहमन्त्री लामिछानेले खाजाको स्रोत खोजी गर्दै सभापति खतिवडालाई प्रश्न गरेको भनी प्रचार गरिरहेको छ ।
गृहमन्त्री बाहिरिएपछि सभापति खतिवडालाई गृहमन्त्रीले समेत छोडेर हिँडेपछि कस्तो सन्देश जान्छ भन्दै सांसदहरूले खै’ गरेका थिए । उनीहरूले लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसहित विज्ञहरूलाई डाकेर समितिको बैठक अर्को दिन सञ्चालन गर्न आग्रह गरेपछि सभापति खतिवडाले बैठक स्थगित गर्नुभयो । अर्को बैठकको टुंगो लागेको छैन ।
उता, सभापति रामहरी खतिवडाले भने खाजा खाना स्पोन्सर भन्दा पनि समितिको बैठकमा एनजीओकर्मी छिर्न खोजेपछि अघि नबढाइएको बताउनु भएको छ । उहाँका अनुसार दुईजना एनजीओको मान्छे छिरेको देखिएपछि बैठकमा एनजीओका प्रतिनिधि राख्दैनौं भनेर स्थगित गरिएको हो ।