काठमाडौं । मंगलबार (आज) निर्जला एकादशी अर्थात्, तुलसीको दल राख्ने दिन । विशेष गरेर वैष्णवहरुका लागि महत्वपूर्ण दिन । यो समय स्मार्तहरुका लागि पनि महत्वपूर्ण मानिन्छ ।
स्मार्त भनेका को हुन् ?
विशेषतः हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई स्मार्त भनिन्छ । उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्, उनीहरु त्यसअघिको तिथिलाई महत्व दिन्छन् । जन्माष्टमी, रामनवमी, एकादशी एक दिनअघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भन्ने गरिन्छ ।
वैष्णव को हुन् ?
वासुदेव, श्रीकृष्ण वा भगवान् विष्णुलाई मात्र मान्नेलाई वैष्णव भनिन्छ । र, सबै तपस्वीहरू र गुरु धारण गरेका सन्यासीहरु पनि वैष्णवको श्रेणीमा आउँछन् ।
वैष्णव सम्प्रदायमा उदय तिथीको ठूलो महत्व छ जसरी एकादशीलाई द्वादशीसँग मिलाएर मनाउने गरिन्छ ।
वैष्ण एकादशी
सूर्योदयको समयमा एकादशी प्रतिबिम्बित हुँदा त्यसलाई स्मार्त एकादशी भनिन्छ । कुनै पनि पक्षको दशमी तिथीको समाप्ति अरुणोदयको दिन अर्थात् एकादशीको दिन सूर्योदयभन्दा दुई घण्टा अघि समाप्त भएको बेलामा वैष्णव वा भागवत एकादशी हुन्छ ।
अथवा एकादशीका दिन सूर्योदय भन्दा ९६ मिनेट अगाडि नै स्मार्त एकादशी समाप्त भइसकेको हुन्छ । सामान्यतः वैष्णव एकादशी, स्मार्त एकादशी को भोलीपल्ट आउँछ ।
निर्जला एकादशीको महत्त्व
यो एकादशीका दिन तुलसीको दानालाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटो मै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो छरितो पारेर तुलसी छर्दछन् । यो दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवालाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ । हरिको कीर्तन गरेर यो एकादशीको भव्य स्मरण गरिन्छ ।
निर्जला अर्थात् जलविनाको एकादशी, यसलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन, नितान्त रूपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गर्ने चलन छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ ।
कथा प्रसंग
५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन रहेकामा खानाका अत्यन्त पारखी एवं सौखिन, खानाप्रतिको आशक्ति काबु गर्न नसक्ने अर्थात् सम्झौतै गर्न नसक्ने भीमले व्रतका क्रममा खानाप्रतिको आशक्ति तोड्न सकेनन् ।
भीम यो समस्याले चिन्तित थिए र गएर गुरु व्यासलाई समस्या सुनाए । गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई सुझाए । यसरी यो एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, र त्यसैबेलादेखि यो एकादशीलाई भीम एकादशी अर्थात् पाण्डव एकादशी भन्न थालिएको कथन छ ।
के-के गरिन्छ निर्जला एकादशीमा ?
ज्येष्ठ शुक्ल एकादशीका रूपमा यो निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तनको यो एकादशीमा विशेष महत्त्व रहन्छ , एकादशी महत्मय, विष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यो एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ ।
निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा आचमनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।
एकादशीको रातमा जाग्राम बस्ने चलन पनि छ । मार्कण्डेय र विष्णु पुराणमा निर्जला एकादशीमा पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने भनी उल्लेख छ ।