दमक । झापाको कमल गाउँपालिका वडा-४ चुलाचुली मोडमा बस र टिपर जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते भएका छन् । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।
दुर्घटनामा परेर बसमा सवार रहेका २१ जना यात्रुहरुहरु घाइते भएको र उनीहरूको उद्धार गरेर उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको चन्दले जानकारी दिनुभएको छ ।
स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ३८ की बिनु लिम्बू र दमक नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।
यसै गरी मोरङ मधुमल्ला ८ बस्ने वर्ष ३६ कल्पना कटुवाल उहाँको नाम खुल्न नुसकेको करिब वर्ष ४ छोराको दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ का वर्ष ४० की पूर्णमाया पोखरेल, दमक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ५१ होम बहादुर भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३८ का शारदा खड्का, दमक नगरपालिका –५ बस्ने वर्ष ४५ अच्युत निरौला, कमल गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३८ लीला चौहानलाई थप उपचारका लागि न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जनाउनुभयो ।
अन्य घाइतेको अवस्था सामान्य रहेको र दमककै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना स्थलबाट बस चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४५ को अशोक बोट र टिपर चालक धनुषा जिल्ला गणेशमान नगरपालिका ५ बस्ने ३४ वर्षीय शेरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।