घोराही । दाङमा वायुको गुणस्तर मापनका लागि ६ वर्षअघि स्थापना भएको वायु प्रदूषण मापन केन्द्र बिग्रिएर थन्किएको छ । वातावरण विभागले एक करोड २५ लाखको लागतमा २०७५ साल जेठ महिनामा घोराही उपमहानगरपालिका-२, रामपुरमा केन्द्र स्थापना गरेको हो । वायु प्रदूषण मापन केन्द्रको उपकरण बिग्रिँदा दुई वर्षदेखि जिल्लाको वायु गुणस्तरको जानकारी आउन सकेको छैन ।
घोराही उपमहानगरपालिका-२, रामपुर निवासी चित्रबहादुर चौधरी सिमेन्ट उद्योग, पुराना सवारीसाधनलगायतका विभिन्न उद्योगका कारण हुने वायु प्रदूषण मापनका लागि स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्र बिग्रिँदा जिल्लामा वायुको गुणस्तर मापन हुन नसकेको बताउनुहुन्छ । सिमेन्ट उद्योगका कारण जिल्लामा वायु प्रदूषण बढेको जनगुनासो बढेपछि वायु प्रदूषण मापनका लागि केन्द्र स्थापना भए पनि बिग्रिँदा समस्या भएको बताउनुहुन्छ ।
वायुको गुणस्तरको मात्र थाहा पाउन सके त्यस अनुसारका कार्यक्रम चलाउन सकिने भए पनि केन्द्र नै बन्द हुँदा जनता समस्यामा परेको चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, ‘सिमेन्ट उद्योगलगायतका अन्य उद्योग तथा सवारीसाधनका कारण वायुमा परेको असर मापन हुन आवश्यक छ । त्यसका लागि बिग्रिएको उपकरण बनाउन आवश्यक छ ।’
वायु प्रदूषण मापन केन्द्रको जिल्लामा रेखदेख र निगरानी गर्ने जिम्मेवारी छैन । विभागबाटै आएर हेर्ने व्यवस्था रहेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउनुहुन्छ । उपकरण बिग्रँदा जिल्लाको वायु गुणस्तरको अवस्था के छ भनेर मापन हुने गरेको छैन । मापन केन्द्रले हावामा रहेका मसिना धुलोका कण तथा ग्यासको मात्राको विश्लेषण हरेक मिनेटमा दिन्छ ।
वायु प्रदूषण मापन केन्द्रको ब्याट्रीलगायतका उपकरणमा समस्या हुँदा बन्द रहेको उल्लेख गर्दै आउने दसैँसम्म बनाएर सञ्चालन गर्ने तयारीमा रहेको निरीक्षक लामिछानेले जानकारी दिनुभयो । मर्मतसम्भारका लागि बजेट विनियोजन भइसकेकाले आगामी आर्थिक वर्षबाट दाङसहित देशका अन्य स्थानमा बिग्रिएका वायु मापन केन्द्रको समेत मर्मत गर्ने गरी विभाग तयारीमा रहेको वातावरण निरीक्षक लामिछानेले जानकारी दिनुभएको छ ।
दाङमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रले त्यस ठाउँको हावा पम्प गरेर भित्र तान्ने र त्यहाँ प्रदूषण कति छ भनेर मापन गर्ने भए पनि बिग्रिँदा मापन गर्न नसकिएको लामिछाने बताउनुहुन्छ । जिल्लामा पछिल्लो समय वायु गुणस्तरको अवस्था कस्तो छ भन्ने समेत थाहा नपाउने अवस्था रहेको रामपुर निवासी स्थानीय लक्ष्मी पोख्रेल बताउनुहुन्छ ।