काठमाडौं । दस वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक ‘ड्रागन फ्रुट’को खेतीमा व्यस्त हुनुहुन्छ । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गर्नु भएको हो ।
‘दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसँग जोडिएको छु।’
स्वदेश फर्कँदा ड्रागन फ्रुटको खेती गर्ने योजना बनाएको उहाँको भनाइ छ । सोही अनुरूप दुई वर्षअघि थापाले ड्रागनफ्रुटका तीन सय बिरुवा लगाउनुभयो । बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै अहिले पाँच रोपनीमा एक हजार बिरुवा लगाइएको उहाँले बताउनुभयो ।
‘नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ,’ उहाँ भन्नुहुन्छ, ‘गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ ।’ सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परेपनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ ।
प्रतिकेजी ५ सय रूपैयाँका दरले बिक्री हुने र मागअनुसार आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो । ६ लाखको लागतमा व्यावसायिक खेती थाल्नुभएका थापालाई ‘फार्म’को सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न तीन लाख रूपैयाँ उपलब्ध गराएको थियो । वडा कार्यालयले पनि सिँचाइका लागि सहयोग गरेको उहाँले बताउनुभयो ।
उहाँले ड्रागन फ्रुटसँगै खाली रहेको जमिनमा कोरियाली साग (फेछु) र चिनियाँ साग पनि लगाउनु भएको छ । ‘ड्रागन फ्रुटका बोटका बीचमा साग लगाएको छु, त्यसको माग अत्यधिक छ,’ उहाँले भन्नुभयो, ‘तीन-तीन महिनामा साग बेचेर एक लाख रूपैयाँ आम्दानी हुन्छ ।’
साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेका छन्। उहाँले फार्ममा सेतोपाती समेत लगाउनु भएको छ । काटेर सुकाएको सेतोपाती प्रतिकेजी सय रूपैयाँमा विक्री हुने उहाँ बताउनुहुन्छ । ‘अहिले उत्पादन भएको ड्रागन फ्रुट लगायत कृषिजन्य उत्पादन नजिकैको बजारमा खपत भइरहेको छ, अब व्यवसायलाई विस्तार गर्ने सोचमा छु,’ उहाँले भन्नुभयो ।