काठमाडौं । हज गर्न गएकी नेपाली हज यात्री सायरा बानु सय्यदको चर्को गर्मीका कारण निधन भएको छ । साउदी अरबमा हज गर्न जाँदा चर्को गर्मी र सुविधाको अभावका कारण विगत केही दिन यता ‘सयौं’ हजयात्रीको मृत्यु भइसकेको छ ।
बाँकेको दुदुवा गाउँपालिका ३ निवासी ५९ वर्षिया सय्यदको उपचारका क्रममा मृत्यु भएको हो । यो वर्ष हज मान्न साढे ७ सय भन्दा बढी नेपाली साउदी अरब गएका छन ।
समाचार एजेन्सी रोयटर्सले विभिन्न देशको विदेश मन्त्रालय र अन्य स्रोतबाट प्राप्त जानकारीका आधारमा कम्तीमा ५६२ जनाको मृत्यु भएको दाबी गरेको छ भने एएफपीका अनुसार मृत्यु हुनेको संख्या एक हजारको हाराहारीमा रहेको छ । तीमध्ये अधिकांश इजिप्टका नागरिक हुन ।
पाकिस्तान हज मिशन निर्देशक अब्दुल वहाब सुमरोका अनुसार कम्तिमा ३५ पाकिस्तानी हज तीर्थयात्रीहरूले पनि ज्यान गुमाएका छन्। तीमध्ये २६ जनाको हजअघि मक्कामा मृत्यु भएको र बाँकीको हजको अनुष्ठान पूरा गर्ने क्रममा मृत्यु भएको बताए ।साउदी अरबले अहिलेसम्म मृत्यु हुनेको तथ्यांक सार्वजनिक गरेको छैन । साउदी अरबमा विगत ३० वर्षमा हजका क्रममा भागदौड, पालमा आगलागी र अन्य दुर्घटनाका कारण सयौंको ज्यान गएको छ ।
साउदी प्रशासनका अनुसार यस वर्ष करिब १८ लाख मानिसले हज गरेका थिए जसमध्ये १६ लाख विदेशी थिए । रोयटर्सले इजिप्टको मेडिकल टोलीबाट प्राप्त जानकारीको आधारमा इजिप्टमा मरेका व्यक्तिहरू प्रायः दर्ता नभएको भन्दै चर्को गर्मीमा सडकमा बस्न बाध्य भएको बताएको छ।
ओमानले हालसम्म सरकारी स्तरमा ४१, ट्युनिसियाले ३५ र जोर्डनले हजका क्रममा गर्मीका कारण ६ जना हजयात्रीको मृत्यु भएको पुष्टि गरेको छ । जोर्डनको विदेश कार्यालयले ४१ जोर्डन हज यात्रीलाई उनीहरुको परिवारको इच्छा अनुसार मक्कामा अन्त्येष्टि गर्न अनुमति दिएको छ । जोर्डनले पठाएको सरकारी टोलीमा यी हज यात्री नभएको पनि बताइएको छ ।
जोर्डन दूतावासले पनि १०६ जोर्डन हज तीर्थयात्री मध्ये ८४ जना अझै बेपत्ता रहेको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार परिवारका सदस्यहरूले अझै पनि साउदी अस्पतालमा बेपत्ता आफन्तहरूको खोजी गरिरहेका छन्।