काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आज काठमाडौँमा आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उहाँले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन सकिन्छ”, उहाँले भन्नुभयो । महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताउनुभयो ।
उहाँले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गर्नुभयो । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गर्नुभयो । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, उहाँले भन्नुभयो । उहाँले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
“प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताउनुभयो । “काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ”, उहाँले भन्नुभयो । भ्रष्टाचारविरुद्ध कांग्रेस शशक्त भएर उभिनुपर्ने उहाँको भनाइ छ । नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भन्नुभयो । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ थियो । नेता पौडेलले कलङ्की-चावहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका-२६ का पूर्वअध्यक्ष विश्वम्भरलाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।