बाजुरा । बाजुरामा नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बाजुरा वितरण कार्यालयले हप्तामा एक दिन मात्र नुन वितरण गर्न थालेको छ । बाजुराका स्थानीय विक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्किनु पर्ने अवस्था छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन विक्री गरिरहेको छ ।
वर्षात्को समयमा नुन ढुवानी गर्न समस्या भएको कारण देखाइएपनि ढुवानीमा मिलेमतोको आशंका समेत गरिएको छ । साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराका अनुसार बाजुरामा गएको चैतदेखि नै नुन अभाव भए पनि उपल्लो तहले गुनासो सम्बोधन गरेको छैन ।
भारतको सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत ढुवानी अनुदानमा बाजुरामा नुन विक्री वितरण हुने गरेको छ । बाजुरामा चार वटा नुनको डिपो र चार वटा विक्री केन्द्र छन् ।
ढुवानी अनुदानको नुन प्रतिकिलो ९ रुपैयाँमा विक्री हुने गरेको छ । सरकारले बाजुराको मार्तडी, कोल्टी, मौरे र कवाडी डिपोमा आवश्यकताभन्दा कम नुन दिने गरेको कर्मचारीहरू बताउँछन् ।
चालु आर्थिक वर्षको १२ महिनाका लागि जिल्लाभर १६ हजार ८५२ क्विन्टल नुनको कोटा छ । यो कोटा बाजुराका लागि अपर्याप्त रहेको बोहोरोले बताउनुभयो । आफूहरूले बाजुरामा नुनको कोटा अपुग भएको भन्दै सरकारलाई लिखित जानकारी दिएको उहाँले बताउनुभयो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले यो कोटा नै कम आएका कारण पनि अभाव देखिएको नेपालकभर डटकमलाई बताउनुभयो ।
गत हप्ता मात्रै नुन आएको बताउँदै उहाँले, ‘अहिलेलाई अभाव टरे पनि निकट समय मै संकट आउने खतरा कायमै छ’ भन्नृुभयो । पोहोर जस्तो कोटा आएको छैन, नुन मात्रै होइन चामलमा समेत त्यस्तै भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बजार अनुगमन गर्दा कार्टेलिङ् वा कृत्रिम अभाव सिर्जना गर्नेहरु नभेटिए पनि ढुवानीकर्ता र व्यापारीको शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ ।