काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले इजरायलमा आठ सय कामदारका लागि आवेदन खुला गरेको छ । वृद्धवृद्धालाई स्याहार गर्ने (केयरगिभर) कामका लागि ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना बैकल्पिक उम्मेदवार छनोट हुने गरी विभागले आवेदन खुला गरेको हो । यसमा ६० प्रतिशत महिला कामदार र ४० प्रतिशत पुरुष कामदार छानिने बताइएको छ ।
रोजगारीका लागि इजरायल जान २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । उचाईमा १.५ मिटर र कामदारको तौल कम्तिमा ४५ केजी हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
यस्तो रोजगारमा जान १० कक्षा पास गरी अ.न.मी. वा सी.एम.ए. सम्बन्धि विषयमा कम्तिमा १५ महिना अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
पहिले इजरायल गएकाहरूले भने यो प्रक्रियामा आवेदन दिन पाउने छैनन् । सूचनाअनुसार आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ
यस अघिनै इजरायल र नेपालबीच श्रम सम्झौता भएर नेपालीहरुले इजरायलमा केयरगिभर पदमा रोजगारमा गईसकेका छन् । स्याहारका लागि जाने कामदारको तलब ५ हजार ८८० इजरायली सेकेल तोकिएको छ । जसको नेपाली रुपयाँ २ लाख १० हजार हुन आउँछ । रोजगारमा जोडिनेहरूले सातामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ ।
इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैँले मिलाउनुपर्ने हुन्छ भने आवासको प्रबन्ध रोजगारदातादिन्छन् । एक पटक रोजगारमा जाने कामदारको करार अवधि १ वर्षको हुने भए पनि करार थप्दै ५ वर्षसम्म इजरायल बस्न पाइने छ ।
इजरायल जाने प्रक्रिया सरकार–सरकारबीचको सम्झौताबाट हुने भएकाले यस्तो रोजगारमा जान बिचौलियाको चंगुलमा नपर्न सुझाव दिइएको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ । यसअघि ११ सय जना नेपाली केयरगिभर इजरायलले लिइसकेको छ ।
यो रोजगारका लागि आवेदन दिन योग्यता पुगेका उम्मेदवारहरुले वैदेशिक रोजगार विभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन फारम भर्नु पर्नेछ ।