काठमाडौं । उद्योग विभागले चारवटा परियोजनाको लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत गरेको छ । भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि छ अर्ब, काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि तीन अर्ब लगानी स्वीकृत गरिएको विभागले जानकारी दिएको छ ।
संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सात करोड ६६ लाख स्वीकृत गरिएको छ ।
ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ । यस्तै विभागले स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत् विदेशी लगानी स्वीकृत हुने प्रणालीको उद्घाटन गरेको छ ।
नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी वैशाख ७ गते प्रकाशित भएको राजपत्र अनुसार शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको कम्पनीमा विदेशी लगानीकर्ताले पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत् निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ ।
तेस्रो लगानी सम्मेलनलाई मध्येनजर गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नको लागि विद्युतीय प्रणाली तयार गरी सकेको छ । विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत् आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन् भने सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन् ।
सूचना प्रविधिमा आधारित उद्योगहरूको लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन । यो स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण बढ्ने अपेक्षा गरिएको छ ।