वालिङ। स्याङ्जाको चापाकोट नगरपालिका–९ फूलबारीकी ४१ वर्षीया रेनुका भुसाल भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँ चापाकोट–९ स्थित गङ्गालाल माविमा अध्ययन हुनुहुन्छ । उहाँले भन्नुभयो,“१४ वर्षमा विवाह भएपछि अध्ययन गर्न पाइन । भित्रभित्रै पढ्ने एकदम इच्छा थियो, पढ्ने उमेरमा विवाह भयो , पढ्ने चाहना भएर पनि पढ्न सक्ने अवस्था भएन, अहिले छोरी ठूला भए अनि सानैदेखिको पढ्ने चाहना पूरा गर्न विद्यालय जान थालेँ ।”
गत वर्ष कक्षा ८ मा भर्ना हुनुभएकी भण्डारीले सो तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुनुभएको थियो । उहाँ विद्यालयका अन्य विद्यार्थीजस्तै विद्यालय पोशाकमा झोलामा कापी–किताब बोकेर नियमित जाने गर्नुहुन्छ । “मानिसका लागि शिक्षाको महत्व धेरै रहेछ, जति बुझ्यो उति यसको महत्व र आवश्यकता देखेँ”, उहाँले भन्नुभयो, “शिक्षा आर्जन गर्न उमेरले छेक्दैन भन्ने लाग्यो अनि गत वर्षदेखि विद्यालय भर्ना भएर जान थालेकी हुँ ।”
अन्य विद्यार्थीले जस्तै कक्षाकार्य तथा गृहकार्य गरेर विद्यालय जाने गरेको उहाँ बताउनुहुन्छ । पढ्न रुचि लागेर आएकाले यसलाई निरन्तरता दिँदै कक्षा १२ सम्म अध्ययन गर्ने सोच उहाँको छ ।
“आफ्ना छोरीको उमेरका बालबालिकासँग एउटै कक्षामा बसेर अध्ययन गर्दा कतै रमाइलो त कतै अप्ठ्यारो महसुस हुने गरेको छ”, उहाँले भन्नुभयो, “धेरै विद्यार्थीले त राम्रो दृष्टिले हेर्छन्, केहीले हजुरआमा, ‘आन्टी’ भनेर जिस्क्याउने गर्छन्, उनीहरूलाई सम्झाउँदै अगाडि बढेकी छु ।”
भण्डारीका अन्य विद्यार्थीजस्तै विद्यालय पोशाकमा उपस्थित भएर मेहनतका साथ अध्ययन गर्दै आउनुभएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले बताउनुभयो । अन्यत्र विद्यालयमा कक्षा ५ पढ्दापढ्दै छाड्नुभएकी रेनुका यहाँ कक्षा ८ मा भर्ना हुनुभएको उहाँले बताउनुभयो ।
“कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभयो”, प्रअ भट्टराईले, “यही मेहनतलाई कक्षा ९ र १० मा पनि निरन्तरता दिन सक्नुभएको खण्डमा माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हुनुहुन्छ ।” सैद्धान्तिक शिक्षा लिनका लागि उहाँ यस विद्यालयमा आउनुले पनि सिकाइ अनिवार्य र जहिले पनि सिक्न सकिन्छ भन्ने सन्देश दिएको प्रअ भट्टराई बताउनुहुन्छ । रेनुका तीन छोरीमध्ये जेठीले स्नातक तह, माइलीले कक्षा १२ पूरा गर्नुभएको छ भने कान्छी गङ्गालाल माविमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ ।