काठमाडौं । देशको सबैभन्दा ठूलो सुपर मार्केट्स चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । भाटभटेनीमा अहिले ६ हजार बढीले रोजगारी पाएका छन् ।
भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले युवालाई रोजगारी दिने निर्णय गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग भेटेपछि आफूले रोजगारी सिर्जनाका लागि सरकारलाई सहयोग गर्ने वचन दिएको र सोही अनुरुप यस्तो घोषणा गरिएको पनि गुरुङले बताउनुभयो ।
काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्नचाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरुप यो निर्णय लिइएको गुरुङले जानकारी दिनुभयो ।
हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ । नयाँ प्रक्रिया अनुरुप जागिर खाने र काम गर्ने रोजगारहरुलाई हरेक हप्ताको अन्त्यमा हप्ताभर कमाएको तलब दिइने व्यवस्था गरिएको पनि गुरुङले बताउनु भएको छ ।
यस्तो जागिरको मौका २१ वर्ष भन्दा कम उमेर भएका र कुनै कलेजमा अध्ययनरत रहेका युवा–युवतीलाई मात्र दिइने भएको छ । यसरी जागिर पाउने युवा-युवतीले दिनको चार घण्टामात्र र हप्तामा पाँच दिने काम गरे पुग्नेछ ।
अमेरिका, अष्ट्रेलिया र अन्य देशमा पढ्न जाने विदेशी विद्यार्थीलाई हप्ताको २० घण्टा काम गर्ने अवसर दिइने गरेको बताउनुहुँदै गुरुङले भन्नुभयो, ‘हामीले पनि सोही अनुसार नेपाली विद्यार्थीहरूलाई हप्ताको बीस घण्टा रोजगारी दिने सोच बनाएका छौँ ।’