काठमाडौं। प्रवासी जीवन सङ्घर्ष र सफलताका गाथा समेटिएको ‘पेम्बाको स्वर्ग’ नामक पुस्तक सार्वजनिक भएको छ । उपन्यासकार केनी पाण्डेले लामो समय अमेरिका बसाइँ र जीवन भोगाइका यावत विषयलाई समेटर उक्त कृति प्रकाशन गर्नुभएको हो । आज आयोजित एक कार्यक्रममा कृतिको विमोचन गर्दै चलचित्र निर्देशक यादव खरेलले एक कर्मठ नेपालीको अमेरिकामा सङ्घर्ष र सफलता जोडर मातृभूमिप्रतिको अगाध प्रेमलाई दर्शाएको बताउनुभयो ।
उहाँले भौगोलिक, सांस्कृतिक, भाषिक विविधतायुक्त मुलुक नेपाल विश्वकै आकर्षक गन्तव्य रहेको भन्दै पुस्तकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “सांसारिक सुख, मोह र समृद्धिभन्दा ठूलो आफ्नै मुलुक हो भन्ने देशप्रेमको गाथालाई पुस्तकले उल्लेख गरेको छ, पुस्तक यथार्थपरक र पुस्तक उपयोगी छ”, खरेलले भन्नुभयो ।
पूर्वसचिव डा द्वारिकानाथ ढुङ्गेलले पेम्बाको स्वर्ग पठनीय दस्तावेज भएको बताउनुभयो । प्रा डा सुरेन्द्र केसीले पेम्बाको स्वर्ग नेपाली साहित्यका क्षेत्रमा सङ्ग्रह गर्न लायक पुस्तक भएको बताउनुभयो ।
पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पुस्तकले नेपालको धेरै गन्तव्य, रहनसहन र संस्कृतिको वर्णन गरेकाले यसबाट मुलुकको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, प्राध्यापक प्रचण्ड प्रधानले प्रवासी जीवन र समाज परिवर्तनबारे पुस्तकले यथार्थपरक वर्णन गरेको बताउनुभयो ।
लेखक पाण्डेले नेपाल वायुसेवा निगम, फ्रान्सेली वायुसेवा र अमेरिकन एक्सप्रेससँगको समबद्धताका नेपाललाई पर्यटन गन्तव्यका रुपमा प्रवर्द्धन गर्न विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गर्नुभएको छ । पुस्तकले मूलतः नेपाली र अमेरिकी संस्कृतिमा हुर्केका युवायुवतीबीचको प्रेम र सांस्कृतिक भिन्नताको कहानी बोलेको छ । उपन्यासको नायक पेम्बा आफू जन्मे–हुर्केको ठाउँ नेपालको दुर्गम हिमाली भेगलाई स्वर्ग मान्छन् । अमेरिका बसाइँका बाध्यता, त्यहाँको रहनसहन र संस्कृति तथा सामाजिक परिवेश बुझ्दै र भोग्दैजाँदा चाँडै नेपालप्रेम र मोह पुनर्ताजगी हुन्छ र उपन्यासका पात्रले नेपाल फर्कने निधो गर्छन् ।
उपन्यासकी नायिका ‘लिनडा’ अमेरिकामा हुर्के–बढेकी हुन् । उनलाई अमेरिका प्यारो छ तर नेपालको पैदलयात्राका क्रममा यहाँको प्राकृतिक सुन्दरता, मानिसको व्यवहार र सांस्कृतिक वैभव देखेपछि अमेरिकाभन्दा नेपाल स्वर्ग छ भन्ने लाग्छ । पुस्तकले पूर्वीय र पाश्चात्य सांस्कृतिक अन्तरघुलनबाट सिर्जित समस्याहरु तथा पश्चिमी समाजको बैबाहिक जीवन, संस्कार, प्रेमसम्बन्ध आदिलाई पुस्तकले उजागर गरेको छ । साथै संसारका अनेक संस्कृतिको चित्रण पनि पुस्तकमा भेटिन्छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तक तीन सय पृष्ठको छ । ‘पेम्बाको स्वर्ग’ अङ्ग्रेजी संस्करणलाई धीर भण्डारी र रुपेन्द्र पोखरेलले नेपाली अनुवाद गर्नुभएको हो ।