काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग राखी उनीहरूका आफन्त ११ दिनदेखि अनशनरत छन् । उनीहरूले सोमबार करारपत्र रद्दसहित १३ बुँदे माग राखेर रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।प्रदर्शनका क्रममा प्रहरीले रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कृतु भण्डारी, रुकुमकी सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई साँझ छाडिएको प्रहरीले जनाएको छ।
भण्डारी, मगर र किसन थापा वैशाख ७ देखि रत्नपार्कमा अनशनरत छन् । उनीहरूलाई रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले आलोपालो अनशन बसेर साथ दिँदै आएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउनुपर्ने, करार सम्झौता रद्द गरी उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गर्नुपर्ने परिवार तथा आफन्तको माग छ ।
युद्धमा घाइते नेपालीलाई उचित क्षतिपूर्ति तथा तलब भत्ता उपलब्ध गराउनुपर्ने, युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्धार हुनुपर्ने, मृतकको शव ल्याउने र क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउने तलब भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै उनीहरूले बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउनुपर्ने, रुसी सेनामा कार्यरत नेपालीको तथ्यांक सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।
उनीहरूले प्रलोभनमा परी रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारबाही, पीडित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि मन्त्रीस्तरीय समन्वय समिति गठन गर्नुपर्ने, रुसी सेनाबाट फर्किएर आएका युवाको पुनःस्थापना तथा पीडित परिवारको उचित हेरचाहको व्यवस्था गर्नुपर्ने, कूटनीतिक सम्बन्ध भएका देशहरूमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौताबिना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने माग पनि राखेका छन्।
रुसी सेनामा भर्ती भएका नेपालीका विषयमा सरकार गम्भीर नभएकाले बाध्य भएर आमरण अनशन बस्नुपरेको संयोजक भण्डारीले बताइन् ।