काठमाडौं । शुक्रबारयता वर्षासँगैको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । गुल्मी, बागलुङ र स्याङ्जाका विभिन्न स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको हो । गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६, अर्जै कडेंलपाटाका भेषबहादुर कामीको घरमाथिबाट ढुङ्गासहित लेदो पहिरो खस्दा पाँच जनाको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जस्ताले छाएको घर पुरिँदा घरमा रहेका सबैको मृत्यु भएको हो । पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, उहाँकी श्रीमती ४८ वर्षीया सुन्तली कामी, बुहारी २६ वर्षीय सीता विक, नातिनी आठ वर्षीय सपना विक र नातिनी आठ महिनाकी विपना विकको मृत्यु प्रहरीले पुष्टि गरेको छ ।
घटनाको स्थलगत मुचुल्का तयार गरी पाँचै जनाको शवलाई गुल्मी अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले तत्काल राहत र उद्धारका लागि जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।
उता, बागलुङको गलकोट नगरपालिका–८, काँडेबाँसको बिसौनामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर बेपत्ता ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीय वसन्ती विकको शव शनिबार दिउँसो पहिरो स्थलमा फेला परेको थियो । पहिरोमा परेर विककी बुहारी र नातिनी घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी, स्याङ्जाको फेदीखोला गाउँपालिका–५, बाँगेमा पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एकतले घर र गोठ २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीय दुर्गा जिटी र उहाँकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो । आमाछोरीको घटनास्थमलै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनु भएको छ ।