काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौँ स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।
पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिनुभयो । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ ।
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन तयार पार्नुभएको हो ।
राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष उल्लेख गरिएका छन् । उक्त प्रतिवेदनमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको छ ।
प्रतिवेदनमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् । मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिइएको छ ।
विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । कायम रहेको ७० वर्षीय उमेरहद हटाउने भनिएको छ । युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । सशक्त पार्टी निर्माणका लागि सङ्गठनको महत्त्वपूर्ण भूमिका उल्लेख गरिएको दस्तावेजमा पार्टी निकट सबै सङ्गठन जनहितमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।