सिमकोट । हुम्लाको सर्केगाडमा १८ सय २५ जना स्थानीयले निःशुल्क स्वास्थ जाँच गराएका छन् । सर्केगाडमा सोमबार र मङ्गलबार आयोजित वृहत् निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन् ।
काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीले सर्केगाड गाउँपालिका पुगेर स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा दिएको हो । पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी निःशुल्क औषधि पनि वितरण गरिएको काठमाडौं मेडिकल कलेजका सञ्चालक एवं कांग्रेस सांसद डा. शुनिल शर्माले बताए ।
जाँच गरिएका बिरामीमध्ये एक सय ४७ जनामा गम्भीर प्रकृतिको रोग देखिएकाले उनीहरूलाई काठमाडौँ मेडिकल कलेज सिनामङ्गल रेफर गरिएको र ती सबै बिरामीलाई काठमाडौँमा पनि निःशुल्क उपचार गरिने बताइएको छ ।निःशुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लासलगायत गाउँका नागरिकले सेवा पाएका हुन् । स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।
शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली सहभागि थियो । डा. शर्माले हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका सुलभ रूपमा स्वास्थ्य सेवा नपाएका स्थानमा पुगेर निःशुल्क सेवा दिइरहेको जानकारी दिँदै हुम्लामा देखिएको नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताउनुभयो । चिकित्सक टोलीले यसअघि गएको वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।