काठमाडौं । सरकार गठन गर्ने गरी संसदमा प्रतिनिधित्व गर्ने दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भएसँगै राजनीतिक दलहरुको व्यस्तता बढेको छ । प्राय सबै पार्टीले बैठक बोलाएका छन् ।
कांग्रेस पदाधिकारी बैठक
विकसित राजनीतिक घटनाक्रमको समीक्षा गरी पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ ।
पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा भएको र नयाँ रणनीतिका साथअघि बढ्नेबारे छलफल भएको बताइएको छ ।
एमाले सचिवालय बैठक
नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँले हालै विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताउनुभयो ।
माओवादी केन्द्रको पदाधिकारी बैठक
एमालेले सत्ता समीकरण बदलेर नेपाली कांग्रेससँग सहकार्यको हातअघि बढाएपछि संकटमा पर्नु भएका प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठक बोलाउनु भएको छ । बिहान बोलाइएको बैठकमा राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
सोमबार मध्यरातमा कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने, आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन प्रक्रिया अघि बढाउने लगायतका विषयमा समझदारी गरे ।
मंगलबार एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने तयारीमा छ । समर्थन फिर्ता लिएमा प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नु हुनेछ । यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिने वा संवैधानिक अधिकार अनुसार एक महिनाभित्र विश्वासको मत लिने विकल्प प्रचण्डसँग हुनेछ ।
यदि प्रचण्डले विश्वासको मत लिन नसकेमा सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जाने छ । संविधानको धारा ७६ को ३ मा संसदको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको व्यवस्था छ । यदि यही अवस्थामा सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने छ ।
यसैबीच, मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको छ । सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गर्नु भएका ओलीले बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको हो ।
राप्रपा पदाधिकारी बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पदाधिकारी बैठक बोलाएको छ । सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । परिवर्तित राजनीतिबारे धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको उनको भनाइ छ ।
सोमबार मध्यरातमा कांग्रेस–एमालेबीच गठबन्धनको सहमति भएपछि अरु दलहरूले पनि छलफलमा जुटेका छन् ।