काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान’ योजना घोषणा गरेको छ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले यो योजना घोषणा गरेको हो ।
श्रममन्त्री डीपी अर्यालले यो योजनाबाट सबै श्रमिकको समस्या समाधान गर्ने लक्ष्य रहेको बताउनुभयो । यसअघि सञ्चालनमा रहेको कल सेन्टरले मात्रै सबै समस्या समाधान गर्न नसकेको उहाँको भनाइ छ ।
‘श्रमाधान’ योजना इन्द्रेणीका सात रङअनुसार सात भागमा विभाजन गरिएको उहाँले बताउनुभयो । यसअन्तर्गत पहिलो सेकेन्ड इनिङ्स कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाश पाएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्नेबारे काम गर्ने उहाँले बताउनुभयो ।
दोस्रोमा रोजगार बैंक रहेको छ । यसले रोजगारदाता र रोजगारी खोज्नेबीच समन्वय गर्ने उहाँले बताउनुभयो । योजना अन्तर्गतको अर्को समता कार्यक्रमले समानताको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालको भनाइ छ । जसमा विशेष समुदायलाई प्राथमिकता दिइने भनिएको छ ।
अर्को ‘ल (कानुन)’ कार्यक्रम रहेको छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रमसम्बन्धी कानुन सबैले जान्ने लक्ष्य मन्त्रालयको छ । विदेशमा समेत सम्बन्धित देशको श्रमिकको लागि कानुनी पहल गर्ने काम यहाँबाट गर्ने मन्त्रालयको भनाइ छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिकलाई प्रतिस्पर्धी बनाउने यसको अर्को उद्देश्य रहेको छ । यसरी दिइने तालिममा देश तथा विदेशमा रहेको नेपाली, एनआरएनएसहितको संलग्नता रहनेछ ।
यस्तै, अर्को ‘साथ’ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । र, अर्को कल सेन्टर कार्यक्रम छ । तत्काल श्रमिकको समस्या सम्बोधन गर्ने उद्देश्य यसको रहेको छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पु¥याएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।
सबै स्थानीय तह र विदेशी नियोग र मेनपावर कम्पनीले यसरी समस्या समाधान गर्नेमा कल सेन्टर रहेकोबारे जानकारी राख्न आग्रह एवम् निर्देशन दिने मन्त्री अर्यालले बताउनुभयो । अब श्रमिकका कुनै पनि समस्या जोसुकैसँग आए पनि मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्न लगाउन समेत आग्रह गरेका छन् ।
नेपालबाट ११४१ नम्बरमा निःशुल्क फोन गर्न सकिने उहाँले बताउनुभयो । विदेशबाट ९८५१३४७२२ ह्वाट्सएप, भाइबर, इमोमार्फत सम्पर्क गर्न सकिनेछ ।