काठमाडौं । प्रतिनिधि सभामा दुई ठूला शक्तिका रुपमा रहेका नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै तरंगित नेपालको पूँजीबजारले चर्को उतारचढाव व्यहोर्नु परेको छ । सोमबार राति विकसित राजनीतिक घटनाक्रमले नयाँ सत्ता समीकरण र प्रधानमन्त्री प्रचण्डको राजीनामाको हल्ला पिट्यो ।
मंगलबार शेयर बजारको प्रिओपन सेसन शुरु हुनासाथ १ मिनेटमै शेयर मूल्य ४ प्रतिशतले बढ्यो भने शेयर बजार मापक नेप्से परिसूचक २१ सय विन्दुमा उक्लियो । र, सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार बन्द भयो । २० मिनेटपछि कारोबार खुल्यो । त्यसको १ मिनेट अर्थात् बजार खुलेको समग्र २१औं मिनेटमा शेयर मूल्य ५ प्रतिशतले बढेर दोस्रो पल्ट सर्किट ब्रेक लाग्यो ।
यो चढावको यसको एउटै कारण थियो, प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने हल्ला । तर, पछि प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको उपयोग गर्ने खबर बाहिरिएसँगै शेयर बजार फेरि दुई हजारको विन्दुतिर उत्रियो । यद्यपि, नेप्से छिनछिनमै तलमाथि हुने क्रम जारी रहयो ।
नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख चन्द्रसिंह साउदका अनुसार प्रधानमन्त्री प्रचण्ड अर्थात् वर्तमान सरकारलाई लगानीकर्ताले विश्वास गरिरहेका थिएनन् । वर्तमान सरकार र नेपाल राष्ट्र बैंकबीच राम्रो सम्बन्ध वा सहयोग देखिएन, उहाँ भन्नुहुन्छ, ‘सरकार र राष्ट्र बैंकबीच देखिएको सपोर्ट अभावले पनि पुष्टि हुन्छ, लगानीकर्ताहरु वर्तमान सरकारको वहिर्गमन चाहन्छन् ।’
नयाँ सरकारप्रति लगानीकर्ताको आशा हुनु स्वभाविक भएपनि वर्तमान सरकारले उत्साह जगाउने कुनै काम नगरेको मनोविज्ञानका कारण लगानीकर्ता प्रधानमन्त्रीको राजीनामाको खबरले उत्साही भएका साउदको भनाइ छ । प्रधानमन्त्रीको वहिर्गमनको खबरले उत्साही लगानीकर्ता तत्काल राजीनामा नदिने सूचनाले पुनः दुखी भएका कारण मंगलबार शेयर बजारमा चर्को उतारचढाव देखिएको उहाँको बुझाइ छ ।