काठमाडौं । अब कोरिया जाने श्रमिकहरूको छनोट रोजगारदाताको मागका आधारमा मात्रै हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका श्रमिक छनोट सूची (रोस्टर)मा राख्दा कोरियाको मागका आधारमा मात्रै राखिने भएको हो ।
सन् २०२५ देखि कोरियाले लैजाने संख्याको तेब्बर संख्या मात्रै उत्तीर्ण गराई रोस्टरमा राखिने इपिएस शाखाका अधिकृत कमलराज श्रेष्ठले बताउनु भएको छ । उदाहरण दिँदै उहाँले भन्नु भएको छ, ‘जस्तै, कोरियाले यो वर्ष एक हजार जना श्रमिक लाने हो भने तीन हजार जनालाई मात्रै पास गराएर रोस्टरमा राखिन्छ । रोस्टर भन्नेबित्तिकै छनोट गर्न धेरै संख्या चाहियो । अब कोरियालाई तीन हजार चाहिएको हो भने ९ हजारले मात्रै परीक्षाका लागि आवेदन दिन पाउँछन् ।’
उहाँका अनुसार परीक्षा आवेदन समेत जति संख्या चाहिने हो, त्यति पुगेपछि स्वचालित प्रणालीबाटै बन्द हुने व्यवस्था राखिने भएको छ । जस अनुसार जो पास गर्न सक्छु भनेर विश्वस्त छ, उसले मात्रै फारम भर्ने र छनोटमा सहज हुने उहाँले बताउनु भयो । इपीएस शाखाले परीक्षाका लागि केही समयअघि नै ‘युजर आइडी’ बनाएर विवरण भर्न तयारी गर्नेछ ।
मानव संसाधन विकास (एचआरडी) कोरियाले परीक्षा फारम बुझाउने समय तोकेपछि आफ्नो रूचिको क्षेत्रमा आवेदन दिनेछन् । फारम भर्ने अवधि जति दिन भए पनि खुलेकै दिन कोटा पुग्यो भने बन्द हुन्छ,’ श्रेष्ठले भन्नुभयो ।
यो व्यवस्थापछि पछिल्लो समय कोरियाले १५ हजार श्रमिक लैजाँदा एक लाख ६३ हजारले परीक्षा दिने जस्तो झन्झटिलो अवस्था नहुने उहाँको भनाइ छ । कोरियाले कुन कुन क्षेत्रमा कति श्रमिक लैजाने हो, त्यो सबै क्षेत्रको कोटा एकै ठाउँमा राखेर श्रमिक माग गर्ने व्यवस्था मिलाइने र शाखाले परीक्षा आवेदन पनि एकै पटक खुला गर्ने उहाँको भनाइ छ ।
सन् २०२४ का लागि शीप बिल्डिङको परीक्षामा सहभागि भएकाहरू उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन नपाउने भएपछि युवाहरू विरोधमा उत्रिएका थिए । विरोधका क्रममा ललितपुरको बालकुमारीमा झडप भएको थियो । झडपकाबीच प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो । पछि उनीहरूसमेत उत्पादनतर्फको परीक्षामा सामेल हुन पाउने निर्णय भएको थियो ।
यो घटनाले ठूलो तरंग ल्याएपछि इपीएस शाखाले यस्ता समस्या दोहोरिन नदिन एकै पटक आवेदन खुलाउने र एउटा क्षेत्र मात्रै रोज्न पाउने व्यवस्था गर्न लागेको हो ।