काठमाडौं । नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य मुलुक क्यानाडाले जरुरी अपिल गरेको छ । क्यानाडाका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई पठाउन भन्दै नेपाली अभिभावकका नाममा अपिल जारी गरेको हो ।
नेपाली विद्यार्थी र अभिभावकका लागि जानकारीपत्र लेख्दै दूतावासले, ‘अभिभावकले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ । पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के-कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ’ भनेको छ ।
क्यानाडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहेको र त्यसले मानसिक समस्या निम्त्याएको दूतावासले जनाएको छ । ‘अभिभावकले आफ्ना छोराछोरीका लागि आवश्यक खर्चको अभाव र अन्य मनोवैज्ञानिक तनावबारे हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्ने’ भन्दै दूतावासले सुझाव दिएको छ ।
विद्यार्थीले क्यानाडा आउनुअघि आफू पढ्ने कलेज विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गर्नुपर्ने पनि दूतावासको अपिलमा उल्लेख छ ।
दूतावासले सचेत गराएको पत्रमा, ‘कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकिन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ । डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ । सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ,’ भनी उल्लेख छ ।
धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुने जनाउँदै दूतावासले पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज/विश्वविद्यालय, ती कलेज/विश्वविद्यालयमा पाइने छात्रवृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले आवश्यक खोजी गरी सुसूचित हुन विद्यार्थीसँग आग्रह गरेको छ ।
क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको जानकारी गराउँदै दूतावासले भनेको छ, ‘अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ ।
त्यसबाहेक निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति/वर्क परमिट जारी नगर्ने नीति लिएको छ । अतः क्यानाडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुने’भनिएको छ । क्यानाडा पुगिसकेका विद्यार्थीहरूलाई पनि सचेत हुन दूतावासले अपिल गरेको छ ।