विराटनगर । विराटनगर महानगरपालिकाले डेंगी नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगी रोग सार्ने लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
डेंगी सार्ने लार्भा नियन्त्रण गर्न महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । साथै, 'खोज र नष्ट गर' अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला सहभागी छन् ।
स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवका अनुसार टायरमा जमेको पानी, स्थिररूपमा राखिएका भाँडा, बोटल, प्लास्टिकलगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगीको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेंगीको संक्रमण हुन्छ ।
टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगी सार्ने लामखुट्टे बस्ने गर्छ । डेंगी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको डा. यादवको भनाइ छ ।
विराटनगर महानगरपालिकामा डेंगीको संक्रमण फैलिन नदिन ‘खोज र नष्ट अभियान’लाई तीव्रता दिएको मेयर नागेश कोइरालाले बताउनुभयो । १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेंगी नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिनुभयो ।