काठमाडौं । सहकारीको बचत अपचलन छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिले ५५ हजार ४१० पीडितले उजुरी दर्ता गरेको जानकारी दिएको छ । जसमा पीडितहरूले ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गरेका छन् ।
शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।
छलफलपछि समिति संयोजक सूर्य थापाले सहकारीसँग सम्बन्धित रहेर पाँच हजार ३०० उजुरी दर्ता भएको जानकारी आफूले पाएको बताउनुभयो । यीमध्ये ९८ उजुरीमा प्रशासनले मुद्दा अघि बढाएको जानकारी पनि आफूहरूले पाएको उहाँको भनाइ छ ।
उहाँका अनुसार अपराध अनुसन्धान विभाग र सीआईबी दुवैले आफ्नो कामअन्तर्गत अनुसन्धान गरेको छ । बैठकमा कार्यादेशमा अधिकारप्राप्त २९ वटा सहकारी केन्द्रित प्रश्नहरू उठेको उहाँले बताउनुभयो ।
उहाँले, ‘छानविन भएको, पक्राउ परेर जेल चलान भएको, पुर्पक्षका लागि थुनामा रहेको विदेशमा सहित फरार रहेको जस्ता केसहरूको समग्र स्थितिको जानकारी गराउन हामीले आज उहाँहरूलाई बोलाएको हो,’ भन्नुभयो ।
संयोजक थापाले उजुरीहरूको विश्लेषण गर्दा सबैभन्दा बढी काठमाडौंमा ४० सहकारीबाट पाँच हजार ६४८ जना ठगिएको जानकारी आफूहरूले पाएको बताउनु भएको छ । ठगीमा संलग्न प्रतिवादीमध्ये २९४ जना पक्राउ परेको तथा ८५६ जना फरार रहेको गृहसचिवले छलफलका क्रममा भनेको संयोजक थापाले जानकारी दिनुभयो ।