चितवन । निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ ।
नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ । नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।देवघाटमा आज जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।
बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ । एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिनुभयो । “निरन्तर वर्षा भइरहेको छ । नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ ।
त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ”, पोखरेलले भन्नुभयो । यसैबिच नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो । बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताउनुभयो । “यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ”, उहाँले भन्नुभयो, “बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।” बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताउनुभयो । यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ । विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।