काठमाडौं । बीपी कोइराला नेतृत्वको सरकार बनेको छ-सात महिना मात्र के बितेको थियो, ०१६ मंसिर २६ गतेदेखि राजा महेन्द्रको पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण तय भयो । त्यस क्रममा राजनीतिक पार्टीहरूले पनि आफ्नो वर्चस्व देखाउन अनेक प्रयास गरे । भ्रमणस्थलहरूमा आफ्नो पहिचान खुल्ने झन्डा र ब्यानरका साथ कोभन्दा को’कमको शैलीमा प्रजापरिषददेखि नेपाली कांग्रेसका कार्यकर्तासम्मको तँछाडमछाड नै चल्यो ।
राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाको भ्रमण गरी २०१६ माघ १७ गते बेलुकी राजधानी फर्किए । ०१६ सालतिर राजा महेन्द्रको पश्चिमाञ्चल भ्रमण हुँदा हेलम्बु गाउँपालिकाका सितार लामा १४-१५ वर्षका थिए । लामाको २०७९ चैतको तेस्रो साता निधन भइसकेको छ ।
लामाले राजा महेन्द्रसँगै एक महिने पश्चिमाञ्चल भ्रमण गर्नुभयो । भ्रमण दल नुवाकोटको समुन्द्रटार र धादिङको ज्याम्रुङ हुँदै गएको थियो, लामाले सुनाउनु भयो, ‘कसैले घोडा चढेका थिए भने हामी केटाकेटी चाहिं हिड्दै गएका थियौं ।’
गाउँमै हुर्किनु भएका सितार लामाको नाचले राजा महेन्द्रलाई मोहित बनायो । नृत्यमा नाम कमाइसक्नु भएका लामा बन्दीपुरमा राजाको अगाडि नृत्य देखाउने अवसर पाउँदा दंग पर्नुभयो । जसको सीमा रहेन । बुढेसकालमा पनि उहाँको चमक धमक र दप्ची सेलाएन । लोसारमा सिमेभूमेलाई मन्सिएपछि गाइने गीत लय हालेर गाउनुहुन्थ्यो । ह्योल्मो भाषामा लोसारमा नाचिने नाचलाई दप्ची भनिन्छ । त्यसबेला तनहुँको सदरमुकाम बन्दीपुरमा थियो, दमौली त धेरैपछि सारिएको हो ।
कुनैबेला हेलम्बु गाउँ (सायद यसअघि तिम्बुघ्याङयुल पञ्चायत थियो) पञ्चायतका प्रधानपञ्च समेत रहनु भएका सितार लामाको बन्दीपुरको नाचबाट प्रभावित राजा महेन्द्रले प्रधानसेनापति तोरणशम्शेर राणालाई सोध्न भन्नु भएछ –‘के चाहन्छ यो केटाले ? सितार लामाकी दिदी तोरण शम्शेरको घरमा काम गर्नुहुने भएकाले लामाको सम्बन्ध तोरण शम्शेरसँग राम्रो मात्र नभई, धेरै राम्रो थियो । काठमाडौं जादा तोरण शम्शेरकै घरमा बस्नुहुन्थ्यो, सितार लामा । कहिले त एक महिना नै बस्नुहुन्थ्यो । तोरणले नै सिकाउनुभयो–राजासँग स्कूल माग्नु है । राजा महेन्द्रसँग, लामाले त्यसै भन्नुभयो। उहाँलाई अहिले पनि सम्झना छ– त्यो चिठी पदमबहादुर खत्रीले टाइप गरेको ।’
सीसाको फ्रेम हालेर त्यो चिठी घरको भित्तामा झुण्ड्याउनुभएको छ, उहाँले ।
तर, उहाँ लामो समय हेलम्बु गाउँपालिकाको वडा नम्बर १ मा बस्नुभयो । जहाँ सितार लामाका धेरै यजमानहरु छन् । त्यसबेला राजा महेन्द्रको भ्रमण टोलीमा टाइप राइटर सँगै बोकाएर लगिन्थ्यो । केही महिनापछि शिक्षा मन्त्रालयले स्कूल स्वीकृति भएको चिठी दियो । म काठमाडौंमै थिएँ, उबेला काठमाडौंबाट हेलम्बु आउँन दुई दिन लाग्थ्यो । अहिले त बढीमा तीन घण्टामै पुगिन्छ । काठमाडौंबाट सुन्दरीजल, चीसापानी, पाटीभञ्ज्याङ हुँदै हिडेर हेलम्बु आउँनु पथ्र्यो सितार लामाले बुढ्यौंली अनुभव सुनाउँदै भन्नुभएको थियो । हिंडेर आउँदा चीसापानीमा एक जना नयाँ मान्छे भेटियो ।
उसैले बोलायो– तपाईहरु कता पुग्ने हो ? उसलाई जवाफ फर्काउनु भन्दाअघि नै हामीले पनि सोध्यौं– तपाई कता पुग्ने हो त ? उहाँले जवाफ दिनुभयो– हेलम्बु नुर्वु गाउँका एक जनाले राजा (महेन्द्र) सँग स्कूल पाउँ भनी विन्ती हालेका रहेछन् । स्कूल स्वीकृति भएको पत्रसँगै लिएर आएको छु, म त्यही (नुर्वु) गाउँमा पढाउने शिक्षक हुँ । त्यतै जान लागेको हुँ । उहाँको नाम श्याम न्यौपाने हो । त्यतिबेला उनले मासिक १५ रुपैयाँ पाउथें । सितार लामाले भन्नुभयो–नुर्वु गाउँमा विद्यार्थीको अभाव भयो, केही वर्षपछि स्कूल तार्केघ्याङमा गयो ।
लामाले सुनाउनु भयो, ‘राजासँग विन्तीपत्र हाल्ने मै हुँ भन्ने कुरा भएन, पत्याउनु पनि कसरी ? म १५-१६ वर्षको अनपढ ठिटो, अनि हामी सँगसँगै आयौं । शिक्षक न्यौपानेले हेलम्बु आउने बाटो नदेखेकाले हाम्रो साथ लागेर उनी हेलम्बु आएका हुन् अँ, म त तोरण शंशेर जंगबहादुर राणासँग दिल्ली भ्रमणमा पनि गएको थिएँ नि बाबु ।’
सितार लामाले अगाडि भन्नुभयो, ‘हैदरावाद हाउसमा दुई रात बसेर प्रधानसेनापति तोरण शंशेर अमृतशहर जानु भयो, हामी भने हैदरावाद हाउसमै बस्यौं । केही दिनपछि उहाँ हैदरावाद हाउसमै फर्कनु भयो र हामी देहरादुन गयौं, त्यहाँ गोरखाली फौजले प्रधानसेनापति तोरण शम्शेरलाई सलामी दियो ।’ तोरणशम्शेर बढो महत्वकांक्षी हुनुहुन्थ्यो । उहाँ आफ्ना पूर्ववर्ती झैं श्रीपेच लगाउन चाहनुहुन्थ्यो तर मातृकाप्रसाद कोइरालाले दिनु भएन ।
राजा त्रिभुवनले उहाँको लागि विशेष टोपीको व्यवस्था गर्नु भएको थियो तर, असन्तुष्ट तोरणले टोपी लगाउन मान्नुभएन । आफ्नो मुडुलो टाउको नै लिएर हिड्नु हुन्थ्यो, उहाँ। तोरणशम्शेर राणा २०१३ साल जेष्ठ ७ गतेदेखि २०१७ जेष्ठ ७ गतेसम्म प्रधानसेनापति हुनुभएको थियो । तोरण शम्शेर कान्ति राज पथ निर्माण समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो । कान्ति राजपथको उद्घाटन समारोहमा उहाँले राजा महेन्द्रबाट ॐ राम पट्ट तक्मा पाउनु भएको थियो । उहाँ पूर्व–पश्चिम राजमार्ग निर्माण समितिको समेत सदस्य हुनुहुन्थ्यो ।
(लामाको निधनभन्दा केही समयअघि वरिष्ठ पत्रकार परशु घिमिरेले कुराकानीका आधारमा तयार पारेको आलेख)