काठमाडौं। सुपरस्टार दयाहाङ राई अभीनित चलचित्र ‘घरज्वाइँ’ असार २८ गते शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ। पछिल्लो समय आदिवासी जनजातिको कथामा बनेका फिल्ममा लगातार अभीनय गरिरहनुभएका राई यस फिल्ममा मगर चरित्रमा हुनुहुन्छ । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ परम्परामा आधारित भएर बनेको फिल्मले दर्शकलाई फरक कथा अनुभूति गराउने उहाँको विश्वास छ ।
उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म ‘मेनस्ट्रिम’मा नआएको गज्जबको कथा छ यसमा । यसले सबैलाई ‘कनेक्ट’ गर्छ । आम नेपाली समुदायले सोचेभन्दा फरक कथा देख्न र बुझ्न पाइन्छ । फिल्मको सुन्दरता नै यही हो । मैले पनि यो फिल्मबाट मगर समुदायको संस्कृति बुझ्न पाएँ ।’ यो फिल्ममा काम गरेपछि राईले मगर समुदायमा घरज्वाइँको प्रचलन किन छ भन्नेबारेमा समेत नजिकबाट बुझ्न पाएको बताउनुभयो ।
‘हामी प्रायः बुहारीमा राम्रो गुण होस् भन्ने सोच्छौँ । हाम्रो नेपाली समुदायमा धेरैले सोच्ने नै यही हो । तर, मगर समुदायमा अर्कै चलन रहेछ,’ राई अगाडि भन्नुहुन्छ, ‘यो समुदायमा छोरी पाल्न सक्ने अथवा घरजम गरेर बस्न सक्ने क्षमता छ कि छैन भनेर घरज्वाइँ राख्ने प्रचलन रहेछ, जुन मलाई पनि थाहा थिएन ।’ यो फिल्ममा राईले घरज्वाइँ बस्ने पात्रको भूमिकामा अभिनय गर्नुभएको छ।
पहिलोपटक ‘घरज्वाइँ’को स्क्रिप्ट पढ्दाको क्षण स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ‘कुनै-कुनै कुराको पहिलो स्वादमै लत बसेजस्तै भएको थियो मलाई । साह्रै आनन्दको कथा थियो । त्यो कथा र चरित्रमा काम गर्न सकियो वा सकिएन त्यो आफ्नो ठाउँमा छ । यद्यपि, प्रयास गरेका छौं । काम गर्दा चाहिँ रमाइलो भएको थियो ।’
फिल्ममा राईको जोडीको रुपमा देखिनुभएकी अभिनेत्री मिरुना मगरलाई भने पात्रको नामले नै आकर्षित गरेको बताउनुहुन्छ। फिल्ममा उहाँको पात्रको नाम ‘विञ्जुरी’ छ । जसको अर्थ फूल हो, जुन एक्लै फूल्छ । दयाहाङको पात्रको नाम भने ‘सोरो’ हो । जसको अर्थ एक्लो तारा हुन्छ । मगर भन्नुहुन्छ, ‘दुईटै एक्लो । एउटा धर्ति अनि अर्को आकाशको । नामको अर्थले नै मलाई लोभ्याएको थियो ।’
मगर समुदायकै भए पनि उहाँ यो समुदायको धेरै कुरामा जानकार नभएको तर स्क्रिप्ट पढ्दा धेरै कुरा बुझ्न पाएको उहाँको अनुभव छ । ‘स्क्रिप्टमा धेरै नयाँ कुरा थियो, जुन मैले कहिल्यै सुनेको थिइनँ । मैले कल्पना नै नगरेको कुरा पनि थियो । त्यसले गर्दा पनि म काम गर्न उत्साहित भएँ’ मगरले भन्नुभयो। आफुलाई ‘घरज्वाइँ’ सुन्दर प्रेमकथा लागेको र दर्शकलाई पनि फिल्म मनपर्ने मगरको विश्वास छ ।
अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन आदिको अभिनय छ । जनक घर्ती मगरको निर्माण रहेको ‘घरज्वाइँ’लाई सुसन प्रजापतिले छायांकन गर्नुभएको हो ।
चलचित्र 'घरज्वाइँ' को ट्रेलर हेर्नुहोस्ः