काठमाडौं । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न नसक्दा आम जनसाधारण ठगिने क्रम झन् बढ्दै गएको छ । जसको पछिल्लो उदाहरण हो, हालै वैदेशिक रोजगार विभागले इजरायल पठाउन जारी गरेको 'केयरगिभर'को दरखास्त । असार ११ गते विभागले प्रकाशित गरेको सूचना अनुसार अहिले दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि जान इच्छुक योग्यता पुगेका नेपालीहरु आवेदनको दौडमा छन् ।
विभागले यो पल्ट आवेदन भर्नु पहिले ब्रिटिश काउन्सिलबाट फाउण्डेसन इंग्लिश ल्याङ्वेजको कम्तिमा पनि एटु लेभलको सर्टिफिकेट अनिवार्य गरेपछि काउन्सिलको बबरमहलस्थित स्किल टेष्ट सेन्टरमा आवेदकहरुको विहानैदेखि बेलुकीसम्म भीड लाग्ने गरेको छ । सँगै त्यो भीडलाई फकाउने र वहकाउनेहरु पनि उत्तिकै सक्रिय भएका छन् । मानौं उनीहरु ‘गिद्ध झैं’ सिनोको व्यग्र प्रतिक्षा गरिरहेका छन् ।
स्किल टेस्टका लागि स्वास्थ्य बीमा बोर्डसँगै रहेको सेन्टर पुगेका आवेदनका आकांक्षीहरुलाई फकाउन केयरगिभिङ सम्बन्धि तालिम प्रदायक केही संस्थाका प्रतिनिधि तथा विचौलिया गेटैमा खोंचे थापेर बस्ने गरेका छन् । हातमा भिजिटिङ कार्ड, ब्रोसर लगायत इन्स्टिच्युटबारेका बुकलेट वितरण गरेर उनीहरु सिकाइका लागि मात्रै फकाइरहेका छैनन्, शतप्रतिशत इजरायल पठाइदिने आश्वासन बाँडिरहेका छन् । र, फाउण्डेसन इंग्लिश टेस्ट (एफइटी)को परीक्षाका लागि सेन्टर पुगेका आकांक्षीहरुलाई यसमा त सेटिङ हुन्छ, यो हुन्छ, त्यो हुन्छ, भन्दै थप भ्रमित बनाइरहेका छन् । विभागको सूचनाबाटै कन्फ्यूज भइरहेका आकांक्षीहरु अलमल्ल छन् । तालिम प्रदायक तथा परामर्शका नाममा प्रतिनिधि र विचौलियाहरु नानाथरी लोभ लालचले इच्छुकहरुलाई थप प्रताडित बनाइरहेका छन् ।
वुधबार परीक्षा दिन बबरमहल पुगेकी शाही थरकी एक आकांक्षीले भनिन्, ‘काउन्सिलको परीक्षा दिइरकेपछि कतै पनि कुनै अन्तर्वार्ता दिनु पर्दैन । र, यो टेष्टमा पास हुनेहरु सोझै सर्ट लिष्टेड हुने भनिएको छ ।’ उनी निकै भ्रमित छिन् । त्यति मात्रै होइन, हाल कुनै अस्पतालमा नर्सको रुपमा कार्यरत उनले आफुलई केयरगिभरले गर्ने कामहरु सबै थाहा भएको र अन्यलाई सिकाउने सक्ने प्रतिक्रिया दिइन् । तर, इजरायलले मागेको केयरगिभिङ सम्बन्धि सहायक कामदार बन्न नर्सिङ आवश्यक नहुन सक्छ । शाही थरकी आवेदक यस मामिलामा कन्फ्यूज हुनु स्वभाविकै हो । कारणः विभागले नै आवश्यक योग्यतामा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी, वा सीएमए सम्बन्धी कम्तिमा १५ महिनाको अध्ययन पुरा गरेको वा नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङ सम्बन्धि कम्तिमा तीन महिनाको तालिम प्राप्त गरेको भनेर भनिदिएको छ ।
इजरायलमा लामोसमय केयरगिभरको अनुभव लिएकाहरु भन्छन्, ‘विभागले आवेदन खुलाएको जस्तो नर्सिङ, सीएमए अध्ययन वा तालिम गरेका प्रशिक्षार्थी र शुद्ध केयरगिभरको तालिम लिएकाहरुलाई एकै डालोमा राख्न मिल्दैन । सूचनामा सहायक स्तरको कामदार भनेका कारण नर्स, सीएमएहरुलाई पनि भर्न भनिएको हुन सक्ला । तर, नर्सिङ र केयरगिभिङ विशुद्ध फरक हुन् । यो चेष्टा नेपाल सरकार र सम्बन्धित विभागलाई हुनै पर्छ ।’
एकातिर विभागले समयमा सूचना नदिएर ठगेको छ, अर्कोतिर सूचना मै प्रष्ट नपारेर भ्रमित तुल्याएको छ भने अर्कोतिर आवेदन भर्ने, स्किल टेष्ट तथा तालिमको उपयुक्त मौका नै नदिई ‘बाध्यताको पासोमा’ पारिदिएको छ । विभागले खुला गरेको यो आवेदन बाध्यताको पासो सावित भएको छ । त्यसका केही प्रतिनिधि घटनाहरु छन् ।
घटना १.
वैदेशिक रोजगार विभागले पोहोर मंसिर मै आएको ५०० जनाको मागमा आफ्नो मनज्ञानले वैकल्पिक ३०० सय जना थपेर सूचना जारी गर्नु । सूचना जारी भएको मितिले २१ दिनभित्र आवेदन भर्न भन्नु । आवेदकहरुलाई सहज र सुलभ बनाइनु पर्ने तालिम तथा स्किल टेस्टलाई अव्यवहारिक तथा महँगो तुल्याइनु ।
घटना २.
केयर गिभर सम्बन्धि तालिम प्रदायक संस्था पुरानाको नवीकरण वा पुनरावलोकन तथा नयाँको अनुगमन नहुनु । आवेदकहरुलाई झुक्याउन तथा भाषा कक्षा सञ्चालक तथा ब्रिटिश काउन्सिललाई उकास्न ‘एफइटी’ बुँदा घुसाउनु । जुन इजरायल जाने आवदेकहरुका लागि जरुरी थिएन ।
घटना ३.
एक जना शाह थरकी महिलाका अनुसार बागबजारमा अंग्रेजी भाषा पढाउने एउटा इस्न्टिच्यूटले एक दिन कक्षा दिएका ८ हजारसम्म पैसा असुल गरेको छ । कतिपयले १ घण्टा कक्षा लिएको ४ हजार देखि ६ हजारसम्म असुल गरेका छन् । काउन्सिलले प्रतिव्यक्ति ५ हजारका दरले करोडौं उठाएको छ । त्यति मात्रै होइन, एफइटी कक्षाको युट्युव लिङ्क पठाइदिने भन्दै कतिपयले अनलाइन कक्षाका नाममा समेत असुली गरेका छन् ।
घटना ५.
व्रिटिश काउन्सिलको स्किल टेष्ट सेन्टरको गेटमै पुगेर कतिपय गिरोहले आफुहरुले १०० प्रतिशत छनोटमा पारिदिने भन्दै ८–१० लाख पैसाको बार्गेनिङ् समेत थालेका छन् । मंगलबार धरानका एक युवाले आफुलाई गेटैमा आइपुगेका एक इन्स्टिच्यूट सञ्चालकले ८ लाख बुझाए १०० प्रतिशत ५०० सयको सूचीभित्र पारिदिने आश्वासन दिएको नेपालकभरलाई बताए । उनका अनुसार बजारमा अहिले व्यापक मोलमोलाइ चलेको छ । कतिपयलाई विभागका कर्मचारीसँगको चिनजानका आधारमा आश्वासन बाँडिएको छ भने कतिपयलाई नेताको भनसुनका समेत प्रस्ताव आएका छन् । वेरोजगारीले थलिएका नेपाली युवायुवती तथा वयस्कहरु एकातिर अवसर कसरी छोप्ने चिन्तामा छन् भने अर्कोतिर बजारमा आइरहेका १० थरी कुराले भ्रमित भइरहेका छन् ।
सचेत हुन भन्दै विभागले निकालेको विज्ञप्ति
विभागलाई विज्ञको सुझाव
वैदेशिक रोजगारविज्ञ डा.गणेश गरुङले इजरायलले लैजाने नेपाली कामदारको सिप तथा तालिमका लागि विभागले पर्याप्त समय दिएर पूर्व सूचना जारी गर्नु पर्नेमा जोड दिए । केयरगिभिङ सम्बन्धि सहायक कामदारका लागि विभागले हालै जारी गरेको आवेदनले आकांक्षीहरुलाई अत्याउने तथा जसले जे भनेपनि पत्याउने खालको फसाद पारिदिएको डा. गुरुङको तर्क छ ।
जविकी इजरायलले नेपाली केयरगिभर तथा कामदार रुचाएको छ भने हामीले त्यहाँ पठाउनका लागि सजिलो तथा स्तरीय मेकानिजम तयार पार्न सक्नुपर्दथ्यो । उहाँ भन्नुहुन्छ, ‘माग आइहाल्यो पठाइदिइहालम् भनेर औपचारिकता निभाउने वा यत्ति पनि चिठ्ठा परेको हो भन्ने मानसिकता राज्य वा कर्मचारीतन्त्रले त्याग्नै पर्छ । र, एउटा भरपर्दो बाटो अपनाउनु पर्दछ । यसलाई व्यवस्थित गर्नु पर्दछ ।’
उहाँले हाल जे भइरहेको छ, त्यो ठीक नभएको बताउनुभयो । ‘मोही माग्ने, ढुंग्रो लुकाउने’खालको प्रवृत्ति नत्यागेसम्म युवाहरु जसले राज्य वा राज्यका निकायमा भरोसा गरेका हुन्छन्, उनीहरुलाई गुनासो गर्ने वातावरण बन्नु हुँदैन । सम्बन्धित निकाय वा विभागका जिम्मेवार अधिकारीहरु भने यस विषयमा बोल्न मानिरहेका छैनन् । निर्देशक तथा सूचना अधिकारी मोबाइल अफ् गरेर गुपचुप छन् भने महानिर्देशक डण्डुराज घिमिरे छनोट फेयर हुने ओठे जवाफ मात्रै दिइरहेका छन् ।
सम्बन्धित समाचार