काठमाडौं । वीरगञ्जबाट काठमाडौ आउँदै रात्रिबस चितवनको भरतपुर महानगरपालिका-२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१-०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका बताइएको छ ।
स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार रातिदेखि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको बताउनुभयो । हिजो रात्रिबस चढेर काठमाडौँ जाँदै हुनुहुन्थ्यो, एक्कासी उहाँ चढेको बस पहिरामा हराइरहेको सुनियो, त्यसयता परिवारमा खुसी हराएको छ”, बसपार्कमा भेट्टिनुभएका उहाँले भन्नुभयो, '[काकासहित बस सवार सबै यात्रु सकुशल रहेको सुखद खबरको प्रतिक्षामा छौँ ।'
एञ्जल डिलक्स प्रालीका वीरगञ्जका इञ्चार्ज विनोदप्रसाद कलवारले बिहीबार काठमाडौँ प्रस्थान गरेको प्रदेश बसमा चालकसहित २४ जना रहेको बताउनुभयो । “बसको चलानमा चालक, सहचालक र सहयोगीसहित २४ जना रहेका छन् । हिजो हाँसीखुसी बिदाइ गरेका थियौँ तर पहिरामा परेको सुन्दा निकै दुःखित भएका छौँ ।”
कलावारकाअनुसार बसमा १७ नेपाली र सात भारतीय नागरिक रहेका बताइएको छ । बस चालक जवाहीर महतो, सहचालक चौधरी थरका एक युवक र अर्को राजकुमार लामिछाने रहेको बताइन्छ । बसको चलानीमा पिपराका प्रकाश पटेल, वीरगञ्ज महानगरपालिकाका अरविन्द दुबे, वीरगञ्ज महानगरका हरेन्द्र पण्डित, बारा मुरहरवाका प्रमानन्द पण्डित, पर्साकै विद्यानारायण राउत, रघुनाथपुरका सलिम मियाँ, कटैयाका रैफुल आलम र रामनगरीका थर नखुलेका सुजित भनिने व्यक्ति सवार रहेको बताइएको छ ।
भारतीय नागरिकमा सन्तोषकुमार ठाकुर, अन्सारी जि, सुरेन्द्र साह, सुनिल साह र शहनावाज हुनुहुन्छ । अन्सारीका नाममा दुई वटा टिकट काटिएकाले अर्का यात्रुको पहिचान खुलेको छैन ।
बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर आउँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका प्रहरीले जनाएको छ ।