काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकाले बृहत् ‘सम्पदा पदयात्रा’ आयोजना गर्ने भएको छ। नगरपालिका भित्र रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीयस्थलका सम्पदाको पहिचान एवं प्रवर्द्धन गर्न उक्त पदयात्रा आयोजना गरिने भएको हो ।
भोलि शनिबार चन्द्रागिरि हाइकर्स कमिटी (सिएचसी) को संयोजनमा चन्द्रगिरि नगरपालिकाले सो पदयात्रा कार्यक्रम गर्ने भएको हो । जम्मा २ हजार २ सय जना सहभागी हुने सो पदयात्रा जम्मा २२ किलोमीटरको हुनेछ ।
चन्द्रागिरि नगरपालिकाभित्र रहेका १५ वटै वडामा रहेका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय प्रवर्द्धन गर्न बृहत् ‘सम्पदा पदयात्रा’ गर्न लागिएको र यसको तयारी पूरा भएको सिएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिनुभयो ।
पदयात्राले ऐतिहासिक एवं सांस्कृतिक चन्द्रागिरिको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने जनाइएको छ । उहाँले नगरपालिकाभित्र रहेका पर्यटकीय सम्पदाको वास्तविक अवस्था के कस्तो छ, यसको अवलोकन गर्न र स्वास्थ्यका लागि हिँडाइको महत्व बुझाउन पदयात्रा राखिएको बताउनुभयो । “आफ्नो टोल, समाजमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र प्रर्वद्धनमा योगदान पुर्याउनु नगरवासीको कर्तव्य हो । यी सम्पदाको संरक्षण प्रवर्द्धन गर्दै जीवन्त राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न युवाको भूमिका अहम् हुन्छ । यसका लागि पदयात्रा गर्न लागेको हौँ”, अध्यक्ष गोपालीले भन्नुभयो ।
चन्द्रगिरि नगरपालिका परिसरबाट सुरु हुने पदयात्रा बलम्बु त्रिवेणीघाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, मातातीर्थ, मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकाप खेलमैदानमा समापन हुने छ ।