काठमाडौं । एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनु भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । ओली प्रधानमन्त्री नियुक्त भएको यो चौथो पटक हो ।
ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको थियो ।
राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेश गर्नु भएको थियो । प्रधानमन्त्री नियुक्त ओलीको सोमबार बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ । उहाँले शपथ लिएलगत्तै उपप्रधानमन्त्रीहरुमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलको शपथ हुनेछ । पौडेलले अर्थ मन्त्रालय पाउने यसअघि नै पक्का भइसकेको छ भने सिंहको मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।
दुई दलबीच मन्त्रालयको भागबण्डा भइसकेको छ । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने तय भएको छ ।
नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिने सहमति भएको छ ।