काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका समकक्षी ली छ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ । चीनका प्रधानमन्त्री लीले बुधवार पठाउनु भएको सन्देशमा नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
चीनका प्रधानमन्त्री सलिले सन्देशमा दुई देशका शीर्ष नेताहरूबिच भएका सहमति कार्यान्वयन गर्न र चीन–नेपाल उच्चगुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधैँ मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गर्नुभएको छ ।
चीन–नेपाल हिमालय र नदीले जोडिएका दुई मैत्रीपूर्ण छिमेकी भएको स्मरण गर्दै सन्देशमा कूटनीतिक सम्बन्ध कायम भएको ६९ वर्षदेखि दुवै देशले सधैँ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई पालन गर्दै आएका र यो समानता र विन–विन सहकार्यको राम्रो उदाहरण भएको उल्लेख गरिएको छ ।
यसैबिच प्रधानमन्त्री ओलीसँग नेपालस्थित चीनका राजदूत छङ सोङले मङ्गलबार शिष्टाचार भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । भेटमा दुई देशबिचको मित्रतालाई थप प्रगाढ बनाउन र व्यावहारिक सहकार्यलाई गति दिने विषयमा छलफल भएको थियो ।
यसै गरी, भारत, पाकिस्तान र भुटानका प्रधानमन्त्रीबाट प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना प्राप्त भएका छन् । यसअघि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा छिमेकी मुलुक भारत, पाकिस्तान, भुटानका प्रधानमन्त्रीका साथै अमेरिकालगायतका मित्रराष्ट्रबाट बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्नुहुँदै दुई देशबिचको मित्रताको गहिरो सम्बन्धलाई अझ सुदृढ गर्न र दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभयुक्त सहयोगलाई अझ विस्तार गर्न मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिनुभएको छ । उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबिचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पाकिस्तानका प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत बधाई दिनुहुँदै दुई देशबिचको सम्बन्ध बलियो बनाउन तथा क्षेत्रीय सहकार्य थप प्रवर्द्धन गर्न सहकार्यका लागि इच्छुक रहेको जनाउनुभएको छ । यस्तै, प्रधानमन्त्री ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि शिष्टाचार भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।
भेटमा भारत र चीन दुवै छिमेकी मुलुकका राजदूतहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्य अगाडि बढाउन बसाल्नुभएको आधारहरूको स्मरण गर्दै त्यसै आधारबाट अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।