काठमाडौं । धेरै मानिसहरु काठमाडौंको मुटु अर्थात् केन्द्र भागमा रहेको टुँडिखेलको विशालतालाई पहिलो पटक देख्दा आश्चर्य मानेर हेर्छन् । नेपाली सेनाको मुख्यालय, दशरथ रंगशाला क्षेत्र, सैनिक मञ्च र रत्नपार्क (शंखधर उद्दयान)समेतलाई टुँडिखेलको अङ्ग मान्ने हो भने अहिलेको टुँडिखेल विगतमा अझै विशाल थियो भनेर सहजै भन्न सकिन्छ ।
यहाँनेर कुरा टुँडिखेलको हैन, टुँडिखेल वरपर रहेका ७ वटा अश्वारोही शालिकको हो । तपाईले कतिवटा गन्न भ्याउनु भएको छ ? घोडामाथि चढेका यी ‘घोड्चढी’हरु को-को हुन त ? राणाकालिन कालखण्डको ६३ वर्षभित्र बेलायतबाट बनाएर झिकाइएका यी शालिक राणाहरुलाई मन नपराउने तत्कालिन राजा महेन्द्रले सैनिक पहरामा रहने गरि जनताका नजरबाट टाढा राख्न खोजेका हुन् । तर, समयको अन्तरालमा, जनताका नजरबाट टाढा राख्न खोजेका शालिक लगभग यथास्थितिमा सुरक्षित छन् भने यी बीचमा राजा महेन्द्र आफैंले राख्न लगाएका वा आसेपासेले राखेका शालिक भने हराइसकेका छन् ।
शालिकमा घोडा चढ्नेहरु
१ पूर्व राजा
५ पूर्व प्रधानमन्त्री
१ पूर्व प्रधानसेनापति
२०१७ सालपछि राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर शासन व्यवस्था आफ्नो हातमा लिए लगत्तै काठमाडौंका विभिन्न चोकमा रहेका शालिकहरुलाई टुँडिखेल वरपर स्थानान्तरण गरेको इतिहास छ ।
१. राणा प्रधानमन्त्री श्री ३ जंगबहादुरको अश्वारोही शालिक
धरहराको पूर्वपट्टिको चौबाटोबाट त्रिपुरेश्वरतिर जाने बाटो छेउमै घोडामाथि सवार जंगबहादुरको अश्वारोही शालिक छ । “श्री ३ हरूको तथ्य वृत्तान्त’’नामक पुस्तकमा १९४२ साल असारमा तात्कालिक श्री ३ रणोद्वीप सिंहबाट शालिक उद्घाटन भएको उल्लेख छ । साथै “श्री ३ हरूको तथ्य वृत्तान्त’’मा यो शालिक युरोप भ्रमणका बेला १९०७ साल भदौ १० गतेका दिन फ्रान्सको सर्टरी मैदानमा सैनिक परेड (मार्चपास) हेर्न घोडा चढेर अगाडि बढ्दा घोडालाई नियन्त्रणमा ल्याई प्रोसेशन् कति पछि पर्यो भनी जंगबहादुरले प्रोसेशनलाई फर्की हेरेको स्मरण गरी बनाउन लगाएको थियो, भनी उल्लेख गरिएको छ । यो शालिक बेलायतमा बनाएर ल्याइएको हो । हाल यो शालिक रहेको स्थान नेपाली सेनाको मुख्यालयभित्र पर्दछ ।
२. राणा प्रधानमन्त्री श्री ३ रणोद्वीप सिंहको अश्वारोही शालिक
धरहराको पूर्वपट्टिको चौबाटोबाट रत्नपार्कतिर जाने बाटो छेउको फलामे रेलिङले घेरिएको टुँडिखेल दक्षिण–पश्चिम कुनामा घोडाले आफ्नो अगाडिको दुवै खुट्टा उचालेको शालिक छ । यो शालिक २०१७ साल अघिसम्म रत्नपार्कबाट बागबजारतर्फ जाने चौबाटोको चोकमा थियो । राणा प्रधानमन्त्री श्री ३ रणोद्वीप सिंहको अश्वारोही शालिकको स्थापना कुन मितिमा भएको थियो भन्ने स्पष्ट उल्लेख शालिक मुनि रहेको अभिलेखमा पनि छैन । तर, अभिलेखमा राणा प्रधानमन्त्री श्री ३ रणोद्वीप सिंहले आफू जीवित छँदै ५९ वर्ष ६ महिना (साढे उनसाठी)को उमेरमा राखेको भन्ने उल्लेख छ । जन्म मितिसँग तुलना गर्दा ई.सं. १८८५ अक्टोबर महिनामा यो शालिक अनावरण भएको देखिन्छ ।
३. कमाण्डर इन चीफ जनरल (हालको प्रधानसेनापति सरह) धीर शमशेरको अश्वारोही शालिक
काठमाडौं सदर टुँडिखेलको पश्चिम–उत्तर कुनामा महाँकाल भैरव मन्दिरको उत्तरपट्टि राणा प्रधानमन्त्री जंगबहादुरको कान्छा भाइ धीर शमशेरको शालिक छ । यो शालिक २०१७ सालपछि अन्यत्रबाट स्थानान्तरण गरी ल्याई स्थापना गरिएको हो । श्री ३ वीर शमशेरले १९५० साल फागुन २८ गतेका दिन आफ्ना पिता धीर शमशेरको संस्मरणमा शालिक स्थापना गराएको इतिहास छ । हाल यो शालिक रहेकोस्थान नेपाली सेनाको सैनिक मञ्चभित्र पर्दछ ।
४. राणा प्रधानमन्त्री श्री ३ वीर शमशेरको अश्वारोही शालिक
रत्नपार्कबाट पुरानो बसपार्क तिर जाँदा सैनिक मञ्चको पूर्व उत्तर कुनामा रहेको अश्वारोही शालिक राणा प्रधानमन्त्री वीर शमशेरको हो । यो शालिक २०१७ साल अघिसम्म वीर अस्पताल अगाडिको दोबाटोको चोकमा थियो ।
श्री ३ वीर शमशेरको शालिक मुनि रहेको अभिलेखमा यो शालिक १९६४ साल वैशाख १६ गते सोमबार स्थापना गरिएको उल्लेख छ । प्रशस्तिमा ‘श्री मदति प्रचण्ड भुजदण्डेत्यादि, जी.सी.यस. आइ, थोङ लिङ पिम्मा कोकाङ वाङ स्याङ, प्राइमिनिष्टर याण्ड कम्याण्डर इन चीफ’भनी उल्लेख गरिएको छ ।
५. राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको अश्वारोही शालिक
टुँडिखेलको दक्षिण पूर्व कुना, भद्रकाली देवी पीठको दायाँपट्टि राणा प्रधानमन्त्री चन्द्र शम्शेरको अश्वारोही शालिक रहेको छ । यो शालिक २०१७ साल अघिसम्म चन्द्र शमशेरले ई.सं. १९२५ मा बनाएको सैनिक अस्पताल अगाडि टुँडिखेलबाट न्यूरोड जाने बाटोको चोकमा रहेको थियो । उक्त शालिकले आफूले बनाएको अस्पताल हातले देखाइ आफ्नो कीर्ति सबैले देखोस् भनेर विशेष महत्वकासाथ राखिएको छ ।
चन्द्र शमशेरको अश्वारोही शालिक बेलायतबाट बनेर पानी जहाजबाट ल्याउँदा जहाज पल्टेर समुद्रमा खस्न पुग्यो र चन्द्र शमशेर बाँचेकै समयभित्र शालिक स्थापना हुन सकेन । त्यसबेला शालिकको बीमा गरिएको हुँदा बीमा कम्पनीले क्षतिपूर्ति दिएपछि पुनः शालिक बनाएर ल्याउँदासम्ममा चन्द्र शमशेरको मृत्यु भइसकेको थियो । त्यसकारण चन्द्र शमशेरको शालिकको अनावरण भीम शमशेरले गरेको इतिहासविद श्यामसुन्दर राजवंशी र जयन्ती श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
६. राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरको अश्वारोही शालिक
टुँडिखेलको दक्षिणपट्टी भद्रकाली देवी पीठको बायाँपट्टी सैनिक मूख्यालयभित्र रहेको अश्वारोही शालिक राणा प्रधानमन्त्री जुद्ध शमशेरको हो । यो शालिकको बनावट अन्य शालिकभन्दा भिन्न छ । अन्य सबै शालिकहरू श्रीपेच पहिरिएको देखिन्छ भने यो शालिकमा सैन्य हेल्मेट लगाइएको छ ।
राणा प्रधानमन्त्री जुद्ध शमशेरको शालिक चन्द्र शमशेरको शालिकको हाराहारीमा राखिएको छ तर यो शालिकलाई यस स्थानमा कहाँबाट स्थानान्तरण गरी ल्याइएको हो यकिनसाथ भन्न सकिएन । इतिहासविद श्यामसुन्दर राजवंशी र जयन्ती श्रेष्ठका अनुसार जावलाखेलको चिडियाखानाभन्दा बाहिर जुद्ध शमशेरको यो शालिक राखिएको थियो । यसलाई पछि २०१७ सालमा जावलाखेलबाट ल्याई सैनिक मुख्यालय भद्रकालीको उत्तरपट्टि राखिएको हो । शालिकमा राखिएको अभिलेख अनुसार २००५ साल जेष्ठ ३१ गतेका दिन श्री ३ मोहन शमशेरबाट यो शालिक उद्घाटन गरिएको हो ।
७. श्री ५ पृथ्वी वीरविक्रम शाहको अश्वारोही शालिक
टुँडिखेलसंगै भद्रकालीबाट सिंहदरबारतिर जाँदा पूर्वपट्टी सडकसँगै दिवंगत महाराजाधिराज पृथ्वी वीर विक्रम शाहदेवको अश्वारोही शालिक छ । यस शालिकको अनावरण तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवबाट १९८६ साल फागुन २ गते सोमबार, ई.सं. १९२९ मार्च ३ तारिखका दिन भएको थियो । यो कुरा यसै शालिकमुनि रहेको अंकित अभिलेखमा लेखिएको छ ।