काठमाडौं। नेपाल आएको वेष्ट इन्डिजको ए टिमसँगको अन्तिम तथा पाँचौँ टी–२० क्रिकेटमा नेपालले शानदार जित हासिल गरेको छ । नेपालले शनिबार वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
त्रिवि कीर्तिपुर मैदानमा १७३ रनको चुनौती नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि अनिल साहले ४५ बलमा ५८ तथा आसिफ शेखले ३५ बलमा ५१ रन बनाए ।
त्यस्तै कुशल मल्लले १८ बलमा अविजित रहँदै ३७ रन बनाए । यसअघि टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १७२ रन बनायो । एलिस अथानाजले २९ बलमा अविजित रँदै ४२ तथा कप्तान रोस्टन चेजले २३ बलमा ३३ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान ३–३ विकेट लिए । त्यस्तै अविनाश बोहराले १ विकेट लिए । यो खेलमा कुशल भुर्तेल, दिपेन्द्र संह ऐरी र प्रतिस जीसी भने विकेटविहीन रहे ।
पहिलो पटक नेपाल आएको वेष्ट इन्डिजको टिमसँग यसअघि भएका चारमध्ये तीन खेल जितेर वेष्ट इन्डिजले पाँच खेलको श्रृंखलामा कब्जा जमाइसकेको छ । नेपालले पहिलो र अन्तिम खेल जितेको हो ।
बीचका तीन खेलमा नेपालको बल–ब्याट दुवै राम्रोसँग चलेको थिएन । अन्तिम खेलमा दुवै चलेसँगै टी–२० विश्वकपका लागि नेपालले तयार रहेको संकेत गरेको छ ।
वेष्ट इन्डिजको यो टिममा तीन जना खेलाडीहरु विश्वकपमा पनि खेल्नेछन् । दोस्रो पटक विश्वकप खेल्दै गरेको नेपाली टिम आइतबार अमेरिका जाँदैछ ।
आगामी जुन २ तारिख (जेठ २० गते) देखि वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा विश्वकप हुँदैछ ।
यसअघिको एसीसी प्रिमियर लिगमासमेत सेमिफाइनल र तेस्रो स्थानको भिडन्त हारेर कमजोर सावित भएको नेपालले वेष्ट इन्डिज एसँगको खेलपछि धेरै सिकेको आशा गर्न सकिन्छ । विश्वकपमा नेपाल समूह डीमा रहेको छ ।