काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जथाभावि नबोल्न आग्रह गर्नु भएको छ । प्रतिनिधि सभामा सोमबार भएको प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गर्नुभयो ।
त्यसअघि शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले यो विवादमा प्रधानमन्त्रीले झुट बोलेको जिकिर गर्नु भएको थियो । अदालतले समेत विद्युत महसुल उठाउन आदेश दिइसकेको अवस्थामा केही उद्योगको लाइन काटिएको भन्दै उहाँले, ‘हिजो प्रधानमन्त्रीले रोष्टमबाटै सफेद झुट बोल्नुभयो । सबै प्रमाण अवज्ञा गर्नुभयो र विचौलियाको भाषामा विद्युत लाइन जोड्ने‘?’ दाहाल बोल्दाबोल्दै समय सकियो ।
शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्टममा पुग्नु भएका प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गर्नुभयो ।
डेडिकेटेड र ट्रंक लाइनको विवादमा आफूले विद्युत महसुल तिर्नु पर्दैन भनेर नभनेको ओलीले बताउनुभयो । ‘विवाद टुंग्याउनुपर्छ, सरकारले पाउनुपर्ने रकम असुल गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘जुन विद्युत उपभोग गरेका छन्, त्यसको तिर्नुपर्छ । जुन प्रयोग गरेका छैनन्, त्यो तिर्न पर्दैन । मैले भनेको त्यो हो ।’
यो आजको नभई ९–१० वर्ष अगाडिदेखिकै विवाद भएको र बेलाबेला लाइन काट्ने र जोडिने भइरहेको बताउँदै उहाँले, ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन, बेठिक खालका सेटिङ र विभिन्न खालका तन्त्रका पछाडि कुद्नु पनि छैन’ भन्नुभयो ।
आफू प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको हुनसक्ने उहाँले बताउनुभयो । ‘कसैलाई मर्का पनि परेको हुनसक्छ, यो त दलिय व्यवस्था हो,’ माओवादीतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राजनीतिक प्रश्नहरु राजनीतिक हिसाबले अगाडि बढाउनुपर्छ ।’
संसदमा गालमुखाल गर्न नआएको भन्दै उहाँले संसदलाई हल्काफुल्का नबनाउन आग्रह गर्नुभयो । ‘सभामुख महोदय, हावादारी कुरा संसदमा नबोलियोस्’ उहाँले भन्नुभयो ।