काठमाडौं । एक वर्षको अवधिमा फर्जी विवरण पेश गरी नागरिकता लिएका २६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०–०८१ मा अघिल्लो वर्षभन्दा दोब्बरबढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको जनाएको हो ।
कार्यालयका अनुसार आव २०७९–०८० मा नागरिकताका दश मुद्दा दर्ता भएको थियोभने आव २०७८–०७९ मा ६ मुद्दा दर्ता थिए । जिल्लामा झुटो विवरण पेस गरी नागरिकता लिने बर्सेनि बढ्दै गएको घटनाक्रमले देखाएको हो । हाल नागरिकताको विषयमा पेस हुन आएका कागजातलाई गम्भीरतापूर्वक हेरेर र कतिपयको हकमा प्रहरी प्रतिवेदनसमेत मगाएर मात्रै प्रदान गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । उहाँका अनुसार गत वर्षमा भएका घटनाले प्रशासकलाई थप गम्भीर बनाएको छ ।
नयाँ नागरिकतामा पनि प्रशासनले प्रहरी प्रतिवेदन खोज्ने गरेको पाइएको छ । कार्यालयले १ वर्षको अवधिमा जिल्लाबाट १० हजार चार सय २९ नयाँ नागरिकता जारी गरेको जनाएको छ । नयाँ नागरिकताका लागि एक हजार दुई सय ७३ सर्जिमिन प्रहरी प्रतिवेदनसहित सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, नागरिकको गोप्य चालचलनका लागि एक हजार १० सिफारिस गरिएको उसले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भने एक वर्षमा नौ हजार दुई सय २४ पुराना नागरिकताको प्रतिलिपि जारी गरिएको छ । आमाको नामबाट १२ र ७ अङ्गीकृत नागरिकता वितरण गरिएको छ । यस अवधिमा ५५ ले नागरिकता त्यागेका छन्भने ५३ गैरआवासीय नागरिकता जारी भएको छ ।
यसैगरी, राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचिएका १९ हजार सात सय ७५ मध्ये एक हजार नौ सय ३४ वितरण भएका छन् । १७ हजार नौ सय तीनले राहदानीका लागि कार्यालयमा आवेदन दिएका थिए । पाँच सय तीन दलित–जनजाति तथा सात सय २४ ले नाबालक परिचयपत्र लिएका छन् ।
यसैबीच, एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी नौवटा नक्कली नागरिकता रद्द गरिएको हो । तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भुपेन्द्र पाण्डेय तथा नायब सुब्बा अधिकृत रामचन्द्र अर्याल भएका बेला जारी गरेका ११ थान नागरिकता रद्द गरिएको हो । उहाँका अनुसार रद्द गरिएका सबै नागरिकता २०७३–०७४ मा जारी भएको पाइएको हो ।
खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामा नै रहेको बुझिएका छ । यस्तै, नागरिकता सनाखत गरेर विदेशीलाई समेत नागरिकता बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा ९हालका अधिकृत० अर्याल र अधिकृत भुपेन्द्र पाण्डेय भने गत चैतमा धरौटीमा छुटेका थिए ।