काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउने गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन नहाल्ने निर्णय लिएको खबर छ । पीडितले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेको बताइएको छ ।
गौशाला २६ ले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएको र शुक्रबार उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेको निकटस्थहरुले बताएका छन् । सरकारी वकिलमा निवेदन दर्ताको नम्बर ३३२ छ ।
हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीविरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।
लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ ।
सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।’
गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेको थियो । तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको छ । गौशाला २६ ले चाहेमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकनको निवेदन गर्न सक्नुहुन्छ ।
फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान छ । गौशाला २६ ले आफ्नो निवेदनमा फैसलाको पूर्णपाठ आफूले अध्ययन गरिसकेको समेत उल्लेख गरेको कानून व्यवसायीले जनाएका छन् ।