एजेन्सी। अजरबैजान पठाइदिने भन्दै भारतमा ६ नेपाली ठगिएका छन् । भारतको चण्डीगढमा रहेको एक भिसा कन्सल्टयान्ट फर्मलाई प्रतिव्यक्ति पाँच लाख ८० हजार रुपैयाँ तिरेका नेपाली ठगीमा परेका हुन् ।
नेपाली किसान मुक्ति पण्डित हार्भी ओभरसिजको नामबाट फेसबुकमा आकर्षक प्रस्तावसहितको विज्ञापन देखेपछि आफ्ना साथीहरूसँग कुराकानी गरेर सो कम्पनीको सम्पर्कमा पुगेका थिए ।
पण्डितसहित उहाँका पाँच साथीले अजरबैजानको भिसाका लागि सो रकम बुझाएको जनाइएको छ । उहाँका अनुसार सो विज्ञापनमा तत्कालै कामदार चाहिएको भन्दै आकर्षक अफर गरिएको थियो । त्यसमा भिसा, एयर टिकट र खानाको पनि व्यवस्था भएको जनाइएको थियो ।
त्यसपछि पण्डितले आफ्ना साथीहरू राकेश पासवान, सञ्जय कुमार, अनिसा थापा, तुलसी पण्डित र शारदा शंकर साहलाई पनि सो विज्ञापनबारे बताउनु भएको थियो ।
सबैले कम्पनीमा सम्पर्क गर्ने निर्णय गरे । त्यसमा दिइएको मोबाइल नम्बरमा सम्पर्क गरेर उनीहरू हार्भी ओभरसिजको चण्डीगढस्थित एससिओ ६८, सेकेण्ड फ्लोर, सेक्टर ४०मा मे २० का दिन पुगेका थिए ।
सो कार्यालयमा पण्डित र उहाँका साथीले हरिभिन्दर सिंह, जगदीप सिंह र अन्य केहीलाई भेटेको बताइएको छ । ती व्यक्तिले आफूहरूलाई कम्पनीको मालिक भएको जनाएका थिए ।
कम्पनीको आश्वासनमा विश्वास गरेर नेपाली युवाहरुले पाँच लाख ८० हजार रुपैयाँ दिएका थिए । जसको बदला एयर टिकट पनि दिइयो तर यात्राको प्रयास गर्दा टिकट नक्कली भएको पत्ता लाग्यो ।अहिले कम्पनीले आफ्नो कार्यालय नै बन्द गरेको बताइएको छ ।