काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठकले मूल ऐन, विधेयक हेरफेर गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि एमाले मुख्य सचेतक महेश बर्तौलाले भन्नुभयो, ‘मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरी उठेका प्रश्नलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।’ अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर आगामी दिनमा त्यसमाथि छलफल केन्द्रित गर्ने उहाँको भनाइ छ ।
संयन्त्रको अर्को बैठक बिहीबार बस्ने बताइएको छ । सोमबारको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो ।
यसअघि गत शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।