काठमाडौं । पछिल्लो एक महिनाको बिचमा चामल र दालको भाउ महँगिएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दाल प्रतिकिलो ९० रुपियाँसम्म महँगिएको हो ।
भारतले चामल र दलहनलगायतका खाद्य वस्तु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुल तोकेसँगै नेपाली व्यापारीले आफूखुसी मौज्दात रहेका चामल र दालमा कृत्रिमरुपमा मूल्य बढाएर बिक्री गरेको पाइएको छ । छिमेकी भारतले यी खाद्यवस्तु श्रीलङ्का, माल्दिभ्समा समेत निर्यात गर्दै आए पनि भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्कीले पछिल्लो एक महिनामा चामल, दहलन, खाने तेल, आटालगायत सबैको वस्तुको भाउ महँगो भएको बताउनुभयो । थोकमा चामल, दाल, गेडागुडी, आँटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उहाँले हिजो बेचिरहेको वस्तुको मूल्यमा अहिले ल्याएर बिक्री गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।
नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा एक सय रुपियाँ बढेर आएको छ ।
नेपालमा चामल, दलहन चिनी, तेललगायतका वस्तु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर परेको सङ्घले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यवस्तुका थोक व्यापारीले चामल र दलहनको मूल्य बढ्नुको कारणबारे अध्ययन गरिरहेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलले पछिल्लो पटक भारत सरकारले नेपालमा चामललगायतका खाद्य वस्तु निर्यात गर्न अतिरिक्त भन्सार महसुल २० प्रतिशत बढाएसँगै खाद्य वस्तु चामल, दाललगायतको भाउ बढेको अनुगमनका क्रममा पाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चामल र दलहनको मूल्य बढ्नुको कारण प्रमाणित हुने बिलसहितको विवरण सक्दो छिटो पेस गर्न भनेका छौँ ।’ नेपालमा चामलको मौज्दात कति छ, कहिलेदेखि मूल्य बढेको हो, त्यो प्रमाण चाहिन्छ । मुखले भारतमा बढेपछि नेपालमा बढ्यो भनेर मात्रै पाइँदैन, त्यसको प्रमाण चाहिन्छ, त्यो प्रमाण व्यापारीसँग मागेका छौँ, उहाँले थप्नुभयो ।
नेपालमा हाल चामलको मौज्दातको अवस्था नेपाली उत्पादनलगायतका विषयमा पनि छलफल भएकाले उहाँहरूले एक-दुई दिनभित्रै विवरण पेस गर्ने प्रतिबद्धता गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
छलफलमा सहभागीले पठाएको विवरण हेरेर मात्रै अहिले मूल्यवृद्धि स्वाभाविक वा अस्वाभाविक थाहा हुने, अस्वाभाविक भए त्यस्ता व्यापारीलाई कानुन अनुसार हदैसम्म कारबाही हुने महानिर्देशक पौडेलले थप्नुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतले चामल, दलहनलगायतका वस्तुको निर्यातमा कडाइ गर्दै ती वस्तुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आम नेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको बताउनुभयो ।