काठमाडौं । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ। चराविद् सञ्जय श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ।
नेपाल बर्ड रेकर्ड कमिटी (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति)का अध्यक्ष डा. तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले तालुमा तीन धर्का भएको अर्जुनक नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत् जानकारी दिनु भएको छ । स्पोटेड फ्लाइक्याचर अंग्रेजी नाम भएको यो चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा रहेको कमिटीका अध्यक्ष सुवेदीले बताउनु भएको छ ।
समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको चराको तस्वीर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएको बताइएको छ ।
उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
तालुधर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेको छ । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ। नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ।
जाडो याममा यिनीहरू नियमित रूपमा दक्षिणतिर बसाइँ सर्छन्। मुस्ताङमा भेटिएको यो चरा बसाइँसराइको क्रममा बाटोमा फिरन्ते रूपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय श्रेष्ठले बताउनु भयो ।
‘देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ,’ वाइल्डलाइफ फोटोग्राफरसमेत रहेका श्रेष्ठले भने, ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ। चराका फोटो खिच्न उत्प्रेरित गरेको छ।’
नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ। श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गर्नु भएको थियो ।