काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका दुई सदस्यलाई स्पष्टीकरण सोधेको छ । सरकारलाई असहयोग गरेको भन्दै विभागीय मन्त्रालयले सञ्चालक समितिका सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको हो । ‘मंगलबार साझ ह्वाटस्यापमा स्पष्टीकरण सोधिएको पत्र पठाइएको छ । औपचारिक रुपमा पत्र पठाइएको छैन,’ स्रोतले भन्यो,’ आज पत्र पाउनुहुन्छ ।’ सञ्चालक समितिका सदस्य आचार्यले स्पष्टीकरण सोधिएको स्वीकार गर्नुभयो ।
विद्युत प्राधिकरणले उद्योगमा ३ महिनाभित्र बक्यौता तिर्ने शर्तसहित लाइन जोड्न गरेको निर्णयमा सञ्चालक समितिका दुई जना सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनीहरुले उद्योगबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठ्ने सुनिश्चितता नभएको भन्दै सञ्चालक समितिको निर्णयमा नोट अफ डिसेन्ट लेखेको बताइएको छ ।
साउन पहिलो साता सञ्चालक समितिको बैठकमा काटिएका उद्योगको लाइन जोड्ने सहमति भएको थियो । सञ्चालक समितिले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई माइन्युट लेख्ने जिम्मा दिएको थियो ।
घिसिङले ऊर्जामन्त्री तथा सञ्चालक समितिका अध्यक्ष दीपक खड्का, तत्कालीन राजस्व सचिव (हाल अर्थ सचिव डा. रामप्रसाद घिमिरे), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाडीलगायतको उपस्थितिमा मंगलबार दिउँसो माइन्युट तयार पार्नु भएको थियो । ।
तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः बक्यौता असुल उपर गर्न कारबाही अघि बढाउने गरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरुको विद्युतको लाइन जोड्ने निर्णय भएको छ । लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिकरुपमा जडान गरिने समेत निर्णय भएको छ ।
प्राधिकरण सञ्चालक समिति ८ सदस्यीय हो । जसमा ५ जना सदस्यले हस्ताक्षर गरेपछि निर्णय हुन्छ । त्यो माइन्युटमा ऊर्जामन्त्री तथा अध्यक्ष खड्का, प्रबन्ध निर्देशक तथा सदस्यसचिव घिसिङ, सचिवद्धय र सदस्य रतनबहादुर ऐरले हस्ताक्षर गर्नु भएको छ ।
नोट अफ डिसेन्ट लेख्ने पुन उपभोक्ताको प्रतिनिधित्व गर्दै बोर्डमा हुनुहुन्छ । कपिल आचार्य ऊर्जा क्षेत्रका तर्फबाट प्रतिनिधि हुनुहुन्छ । उहाँहरु दुवै माओवादी सरकारमा हुँदा सञ्चालक समिति सदस्य नियुक्त हुनु भएको हो । बैठक मै उहाँहरुले लाइन जोड्न नसकिने बताउनु भएको थियो । यसले विवाद समाधान भएर बक्यौता उठ्नुको साटो थप गिजोलिने तर्क उहाँहरुको थियो ।