लहान। शास्त्रीय सङ्गीतमा चर्चित सङ्गीतकार गुरुदेव कामतको बिहीबार बिहान निधन भएको छ । कामतको मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त हुनु भएको थियो । सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा निधन भएको हो।
दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला पर्नुभएको कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उहाँले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।
अहिलेसम्म दस लाख खर्च गरेको थप उपचारका लागि प्रदेश र स्थानीय तहले सहयोग गर्ने तयारी थालेको बेला पिताको मृत्यु भएको कान्छो छोरा समीर कामतले सुनाउनुभयो ।
दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएनु भएको गुरुदेव कामत भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिक्नु भएको थियो । २०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाउनु भएको कामतलाई ६ महिना पहिले दुबै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेको उहाँको कान्छो छोरा समीर कामतले बताउनुभयो ।
गोरखापत्र अनलाइन र पत्रिकाले हिजो समाचार छापिएपछि आजै बिहानदेखि काठमाडौँबाट जिताको उपचारका लागि सहयोग गर्ने फोनहरु चारैतिरबाट आउन थालेको समीरले सुनाउनु भयो । अब तीनै तहको सरकाबाट सहयोगबाट पितालाई बचाउन सक्ने आशा जागेकै केही क्षणमा मृत्यु भएकाले निकै पीडा भएको मृतक कामतका परिवारले बताउनुनुभयो । तीन छोरा एक छोरी रहेको कामतको जेठो छोरा धमेन्द्र कमत र प्रमेन्द्र कामत विदेशबाट आउन लागेकाले आजै २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गर्ने परिवारजनले जनाएको छ ।
गुरुदेव कामतजस्तो सङ्गीतकार गीतकार प्रष्टवक्ताको निधनले राष्ट्रले एक महत्वपूर्ण व्यक्ति गुमाएको मैथिली साहित्य परिषद सिरहाका अध्यक्ष तथा वरिष्ठ लेखक राम रिझन यादवले बताउनु भयो । चार दिन अगाडि प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरी र लक्ष्मीपुरपतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले उपचारका लागि सहयोग गर्न पहल थाल्नु भएको थियो ।
मन्त्रीबाट शोक सन्देश
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाली शास्त्रीय सङ्गीतका धरोहर गुरुदेव कामतको निधन प्रति शोक सन्देश दिनुभएको छ । उहाँको निधनबाट नेपाली शास्त्रीय सङ्गीतको एउटा प्रतिष्ठित व्यक्तित्व गुमाएका छौँ सन्देश मार्फत भन्नुभएको छ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।