पोखरा । पोखरामा हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद भएको कास्की प्रहरीले जनाएको छ । हाल प्रचलित बजार झण्डै ५० लाख रहेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार गरी जनाएको हो ।
पोखराको न्यूरोडस्थित होटल दीपदर्शनमा लुकाइछिपाइ राखेको अवस्थामा १६ साउनमा बरामद गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । उक्त अभियोगमा होटल संचालक ३७ वर्षीया इन्दुदेवी श्रेष्ठ र म्यानेजर २५ वर्षीय मिलन पौडेल पक्राउ परेका छन् । श्रेष्ठ तनहुँको शुक्लागण्डकी ८ की हुन् भने पौडेल स्याङ्जा आँधीखोला गाउँपालिकाका हुन् । उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
होटलमा अवैधरुपमा लागु औषध कारोबार भएको गोप्य सूचना आधारमा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो होटलबाट लागुऔषध कुल ४३ हजार २ सय ट्याबलेट र २ थान मोबाइल बरामद गरेको हो । उक्त होटलको भवनमा केही समयदेखि एक मेडिकल संचालित थियो । यसअघि पोखरा १७, बिरौटामा रहेको उक्त मेडिकल दर्ता नगरी संचालन भएको पाइएको छ ।
बरामद गरिएको लागुऔषधमा हाइड्रोक्लोराइड क्याप्सूल १३ हजार ६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट ५० एमजीको १६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट—५० एमजी टेन्डा—५० एमजीको २६ सय वटा, टेपेन्डोल ट्याब्लेट—७५ एमजी टेन्डा—७५ एमजीको ४ हजार ट्याब्लेट, टेपोन्डोल हाइड्रोक्लोराइड एक्सटेन्ड रिलिज ट्याब्लेट सय एमजीको ११ हजार ६ सय टुयाब्लेट छन् ।
साथै, ट्यापेन्डोल—७५ एमजीको ४ हजार ट्याब्लेट र ट्यापेन्डोल सय एमजीको २१ हजार ४ सय वटा ट्याब्लेट बरामद गरेको हो । सबै प्रकारका लागुऔषध गरेर प्रहरीले ४३ हजार २ सय वटा ट्याब्लेट पनि बरामद गरिएको हो ।