काठमाडौं । संस्थाको लेटरहेड र छाप कथित ‘मानव तस्करी’मा प्रयोग भएको भनी आएका समाचारबारे जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंले आधिकारिक धारणा सार्वजनिक गरेको छ । संघले शुक्रबार औपचारिक पत्रकार भेटघाट गरेरै प्रकाशित, प्रसारित समाचारहरुबारे आधिकारिक धारणा सार्वजनिक गरेको हो । साउन दोस्रो सातातिर जिल्ला सहकारी संघ काठमाडौंको लेटर हेड र छाप किर्ते गरेर २१ जनाको ‘मानव तस्करी’ भएको भनी विभिन्न सञ्चारमाध्यममा शिलशिलेवार समाचार प्रकाशन, प्रसारण भएका थिए ।
पत्रकार भेटघाटमा संघका अध्यक्ष सुमन केसीले त्यसरी जिकिर गरेका कागजात पूर्ण रुपमा किर्ते तथा नक्कली भएको बताउनुभयो । उहाँले, ‘पहिलो त हाम्रो संस्थाको आधिकारिक लेटरहेड अंग्रेजीमा छैन । सञ्चारमाध्यममा आएको लेटरहेडको मास्टहेड अंग्रेजीमा लेखिएको छ । त्यस कारण लेटरहेड र रबर स्ट्याम्प नक्कली बनाई जिल्ला भित्रका सहकारी संस्थामा आवद्ध भए,नभएका मान्छेहरुको नाम लिई जापानमा आयोजित सेमिनारमा सहभागी गराउने नाममा काभ्रे जिल्ला पाँचखाल नगरपालिका निवासी समिर लामाको हवाला दिँदै विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति संघको ध्यानाकर्षण भएको छ’ भन्नुभयो ।
यहि साउन १५ गते संघको आकस्मिक बैठक बसेर अनुसन्धानमा दोषी देखिएका व्यक्तिलाई कारबाहीका लागि संघको नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), महानगरीय प्रहरी वृत्त गौशाला, मानव बेचविखन अनुसन्धान व्यूरो समेतमा गई अनुसन्धानमा कुनै कसर बाँकी नराख्न अनुरोध गरिएको समेत अध्यक्ष केसीले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका लेटरहेडमा प्रोग्राम डाइरेक्टर भनी दस्तखत गर्ने प्रेम कुमार आलेको खोजी भइरहेको र पक्राउ परेको भए कडाभन्दा कडा कारबाही गर्न भनिएको छ ।
सन् २०२४ जुलाई १३ मा जापानमा ‘नेपालको सहकारीको वर्तमान समस्याबारे छलफल र गैरआवासीय संघ जापानसँग नेपालमा लगानी गर्न कसरी सहयोग लिने ?’ भन्ने सन्दर्भमा कार्यक्रम आयोजना भएको थियो
त्यो कार्यक्रममा जानका लागि भन्दै विभिन्न २१ वटा सहकारीका व्यक्ति लगिएको जिकिर समाचारमा गरिएको छ । गैरआवासीय नेपाली संघ जापान र जिल्ला सहकारी संघ काठमाडौंको आयोजनामा गरिएको उक्त कार्यक्रमको नाममा मानव तस्करी भएको भनी शिलशिलेवार समाचार आएपछि आफुहरु सम्बन्धित सबै ठाउँमा पुगेर खोजविन गरेको जिकिर संघका पदाधिकारीहरुले गरेका छन् ।
२१ जना जुलाई १२ मा जापान पुग्ने र जुलाई १८ मा नेपाल फर्कने यात्रा तालिका रहेको थियो । कार्यक्रममा सहभागी हुन गएका मध्ये ९ जनालाई जापानको नारिता विमास्थलबाट नेपाल फर्काइएकोे र अन्य जापान प्रवेश गरेका बताइन्छ ।
सहकारीको कार्यक्रमका नाममा नेपालीलाई जापान लैजाने काममा मुख्य भूमिका समिर लामा तामाङको रहेको प्रहरीको भनाइ छ । लामा जापानको ओसाकामा बस्दै आएको बताइन्छ । मानव तस्करी प्रकरणमा लामालाई प्रहरीले पक्राउ गरिसकेको छ ।