काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार हुनु भएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गर्नु भएको थियो ।
सोमबार साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गर्नु भएको थियो, जसमा उहाँले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गर्नुभयो । उहाँले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिनु भएको छ ।
आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् ।
विद्यार्थीहरुले अन्तरिम सरकारका लागि प्रस्तावित नामहरु चाँडै सार्वजनिक गरिने पनि बताएका छन् । यहीबीच नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ । उहाँका प्रवक्तालाई उदृत गर्दै पेरिसमामा सामान्य स्वास्थ्य जाँचपछि उहाँ बंगलादेश फर्किने भनिएको छ । उहाँ ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिस जानु भएको छ ।
बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले युनुसको भनाइ उल्लेख गर्दै भनेको छ, ‘जब मलाई विद्यार्थीको तर्फबाट सम्पर्क भएको थियो, त्यसबेला मैले स्वीकारेको थिइनँ । मैले धेरै काम गर्न बाँकी छ भनेको थिएँ । तर, विद्यार्थीहरुले पटक पटक मलाई अनुरोध गरे ।’
उहाँले, ‘विद्यार्थी र देशका नागरिकहरुले धेरै त्याग गरेको’ भन्दै आफू जिम्मेवारी लिन तयार रहेको बताएको द डेली स्टारले उल्लेख गरेको छ । उहाँले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताउनु भएको छ । युनुस बंगलादेश छोडेर हिँड्नु भएकी प्रधानमन्त्री शेख हसिनाका प्रतिद्वन्द्वी रहेको बताइन्छ । ८४ वर्षीय उहाँ गरिबहरुको बैंकरका रुपमा चिनिनुहुन्छ ।
गरिबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरेर उहाँले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गर्नु भएको थियो । त्यसका लागि प्राध्यापक समेत रहनु भएका युनुस र त्यहाँको ग्रामीण बैंकलाई सन् २००६ को नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानून उल्लंघन गरेको भन्दै जेल सजाय सुनाएको थियो । तर, उहाँले यो आरोप राजनीति प्रेरित भएको भन्दै आलोचना गर्नु भएको थियो ।
हसिनाले सोमबार राजीनामा दिएर देश छाडेर गएपछि बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउन अग्रसरता लिएको छ । तर, अहिलेसम्म कसले सरकारको नेतृत्व गर्छ भन्ने टुंगो लागि सकेको छैन । स्वतन्त्रता आन्दोलनका सेनानीहरुका परिवारलाई आरक्षण दिने निर्णयविरुद्ध दुई महिनादेखि चलेको आन्दोलनका क्रममा कम्तिमा ३ सय जनाले ज्यान गुमाएका छन् ।